images
images
  • मालारानीका किसान खसीबोका उत्पादनसँगै सामूहिक बजारीकरणमा

    काठमाडौं – मालारानी गाउँपालिकाका कृषक खसीबोका उत्पादनसँगै सामूहिक बजारीकरणतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले बिक्री हुने जिउँदा खसीबोकाको तौलका आधारमा प्रतिकेजी ३० रुपैयाँ अनुदान दिने व्यवस्था गरेपछि कृषक बाख्रापालनमा थप उत्साहित भएका हुन् ।

    कृषकले उत्पादन गरेका खसीबोका गाउँमै व्यापारीले खरिद गर्ने, वास्तविक जिउँदो तौलका आधारमा मूल्य पाउने र त्यसमा गाउँपालिकाबाट थप अनुदानसमेत प्राप्त हुने भएपछि बाख्रापालनलाई आम्दानीको भरपर्दो माध्यम बनाउन सकिने कृषकको विश्वास छ ।

    गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग, हेफर प्रोजेक्ट नेपालको सहयोग तथा ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपाल अर्घाखाँचीको सहजीकरणमा सञ्चालित ‘मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना’अन्तर्गत खसीबोकाको सामूहिक बजारीकरण सुरु गरिएको हो ।

    मालारानी गाउँपालिकाकी उपाध्यक्ष दीपा पोख्रेलका अनुसार खसीबोका बिक्री गर्नुअघि सम्बन्धित सहकारीका सदस्यको रोहबरमा जिउँदै तौल गरिन्छ । सोही तौलका आधारमा मूल्य निर्धारण गरी बिक्री गरिने र गाउँपालिकाले प्रतिकेजी ३० रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    गाउँपालिका–३ खनदहकी कृषक लक्ष्मी चुदालीले सामूहिक बजारीकरणका लागि ल्याएको एउटा बोकाको तौल ७५ किलो पुगेको थियो । निर्धारित मूल्यअनुसार उक्त बोकाको मूल्य ४६ हजार ८७५ रुपैयाँ कायम भएको चुदालीले बताइन् । गाउँपालिकाले प्रतिकेजी ३० रुपैयाँका दरले थप २ हजार २५० रुपैयाँ अनुदान दिने भएकाले उक्त बोकाबाट करिब ४९ हजार १२५ रुपैयाँ आम्दानी हुने उनले बताइन् ।

    मालारानीमा कृषकले उत्पादन गरेका खसीबोका बिक्रीका लागि व्यापारी गाउँमै पुग्न थालेका छन् । विभिन्न घरमा रहेका खसीबोका एकै ठाउँमा जम्मा गरी जिउँदो तौल गरिन्छ र निर्धारित मूल्यका आधारमा व्यापारीलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

    परियोजनाका लेखा अधिकृत अर्जुन खनालले कृषकले खसीबोका बिक्रीका लागि बजारसम्म लैजानुपर्ने झन्झट कम भएको बताए । उनका अनुसार गाउँमै व्यापारी पुग्न थालेपछि कृषकको ढुवानी खर्च र समयसमेत बचत भएको छ ।

    मालारानी गाउँपालिकाभित्रका तीनवटा साना किसान कृषि सहकारीमार्फत जिउँदा खसीबोकाको मूल्य निर्धारण गरिएको छ । निर्धारित दरअनुसार २५ किलोसम्मका खसीबोकाको प्रतिकेजी ५३५ रुपैयाँ र ५६ किलोभन्दा माथिका खसीबोकाको प्रतिकेजी ६२५ रुपैयाँ मूल्य तोकिएको छ ।

    सामूहिक बजारीकरणका कारण कृषकले बजार खोज्दै हिँड्नुपर्ने अवस्था कम भएको परियोजना संयोजक दिनेश बेल्वासेले बताए । उनका अनुसार कृषकले खसीबोका एकै ठाउँमा जम्मा गरी तौल तथा बिक्री गर्ने भएपछि व्यापारीलाई पनि ठूलो परिमाणमा खरिद गर्न सहज भएको छ ।

    बाख्रापालनलाई घरायसी प्रयोजनमा मात्र सीमित नराखी व्यावसायिक उत्पादनसँग जोड्ने उद्देश्यले परियोजनाले उत्पादन, पशुपालन, बजारीकरण र आम्दानीका क्षेत्रमा कृषकलाई सहजीकरण गर्दै आएको छ ।

    सामूहिक बजारीकरणको अभ्यासले कृषकको उत्पादनलाई बजारसँग जोड्नुका साथै उचित मूल्य प्राप्त गर्न र बाख्रापालनबाट नियमित आम्दानीको वातावरण बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images