जनकपुरधाम-धनुषामा आपसी विवादको क्रममा खुकुरी प्रहार गर्दा एकजनाको मृत्यु भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बजार नयाँ टोलका करिब ३५ वर्षीय ओम मल्लिक डोमको खुकुरी प्रहारबाट मृत्यु भएको हो ।उनको सोमबार राति उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको परिवारजनले बताएका छन् ।
गत साउन १८ गते सोमबार राति १० बजेको समयमा आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग ओमको आपसी विवादमा झगडा भएको थियो ।झगडाले उग्ररुप लिएपछि राकेशले ओमको पेटमा खुकुरी प्रहार गरेका थिए भने राकेशको दिदी ३५ वर्षीया रिंकी देवी कुर्मीले टाउकोमा चिर्पट प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
कुखुरीले पेट काटिएर र टाउकोमा चिर्पटले चोट लागेर गम्भीर घाइते भएका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो ।तर अवस्था झन् गम्भीर हुँदै गएपछि जनकपुर रिफर गरिएको थियो । जनकपुरमा समेत उपचार सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको तर, त्यहाँ पनि भर्ना नलिए पछि विराटनगरस्थित नोबेल अस्पतालमा पठाइएको थियोे ।
नोबेल अस्पताल उपचारकै क्रममा गएराति ओमको मृत्यु भएको छ । एउटा बेग्लै विवादमा पीडक कुर्मीले सम्पूर्ण डुम समुदायलाई गाली गरेपछि त्यसो नगर्न ओमले आग्रह गरेको उनका ज्वाइँ नाता पर्ने शत्रुधन मल्लिकले बताए । त्यही क्रममा भनाभन भएपछि कुर्मी परिवारले आक्रमण गरेका थिए ।
ओमले त्यतिबेला मदिरा सेवन नगरेको शत्रुधनको भनाइ छ । मृतक ओमको श्रीमतीसहित दुई छोरी र एक छोरा रहेका छन् । मृत्यु लगत्तै राकेश फरार भएका छन् ।ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले घटना सम्बन्धमा मृत्यु भएको खबर पाएलगत्तै एकजनालाई नियन्त्रणमा लिएको बताए ।
उनका अनुसार परिवारजनले तीनजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















