images
images
  • काठमाडौंमै टेलिफोन–इन्टरनेट कमजोर, सेवा सुधार्न प्राधिकरणलाई सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं – काठमाडौं उपत्यकामै टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको उपभोक्ताको गुनासो कायमै रहेपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेवा सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।

    राजधानीजस्तो मुख्य सहरी क्षेत्रमा समेत टेलिफोनमा आवाज स्पष्ट नसुनिने, सम्पर्क विच्छेद हुने तथा इन्टरनेटको गति र गुणस्तर अपेक्षाअनुसार नहुने समस्या देखिएको भन्दै मन्त्री तिमिल्सिनाले प्राधिकरणका पदाधिकारीसँग सेवाको वास्तविक अवस्था, गुणस्तर परीक्षण र नियमनबारे जानकारी लिएका हुन् ।

    सञ्चारसचिव राजेन्द्रकुमार पौडेल, प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलगायत पदाधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले नागरिकलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु नियामक निकाय र सेवा प्रदायक दुवैको जिम्मेवारी भएको बताए ।

    “दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भयो भन्ने गुनासो अझै हट्न सकेका छैनन् । त्यसमा जसरी पनि सुधार गर्नैपर्नेछ । नागरिकका आकांक्षा पूरा गर्ने गरी काम गर्नुको विकल्प छैन,” उनले भने ।

    मन्त्री तिमिल्सिनाले सेवा प्रदायकले तोकिएको गुणस्तर कायम नगरेको पाइएमा कानुनअनुसार कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले गुणस्तर परीक्षणका लागि आवश्यक उपकरण र संयन्त्र पर्याप्त बनाउन तथा सेवा क्षेत्रको नियमित अनुगमन गर्न पनि आग्रह गरे ।

    प्राधिकरणका पदाधिकारीले भने दूरसञ्चार सेवाको गुणस्तर परीक्षण तथा अनुगमनमा आवश्यक उपकरण र सवारीसाधनको अभाव रहेको जानकारी गराएका छन् । उपकरण खरिदका केही पुराना प्रक्रिया कानुनी विवादमा परेकाले समेत गुणस्तर परीक्षण प्रभावित भएको उनीहरूको भनाइ थियो ।

    विद्यमान व्यवस्थाअनुसार सेवा प्रदायकले आफैँ सेवा क्षेत्रको गुणस्तर परीक्षण गरी प्रत्येक तीन महिनामा त्यससम्बन्धी प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था छ । गुणस्तर न्यून भएको पाइएमा प्राधिकरणले सम्बन्धित सेवा प्रदायकलाई सचेत गराउँदै आएको जनाएको छ ।

    तर, सेवा विस्तार र प्रयोगकर्ताको संख्या बढ्दै गए पनि त्यसअनुसार दूरसञ्चार पूर्वाधार तथा सञ्जाल क्षमतामा पर्याप्त लगानी हुन नसक्दा कतिपय क्षेत्रमा सेवाको गुणस्तर कमजोर बनेको प्राधिकरणको भनाइ छ । गुणस्तर सुधारका लागि सेवा प्रदायकले पूर्वाधारमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    प्राधिकरणका पदाधिकारीले आवश्यक आवृत्ति पर्याप्त रूपमा उपलब्ध हुन सके दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने बताएका थिए ।

    मन्त्री तिमिल्सिनाले फोरजी सेवा विस्तारसँगै विद्यमान सेवाको गुणस्तर सुधार र फाइभजी सञ्चालनका लागि स्पष्ट कार्ययोजना बनाउन पनि प्राधिकरणलाई निर्देशन दिएका छन् । फाइभजी सञ्चालनका लागि आवश्यक तयारी र नियामकीय प्रक्रिया अघि बढाउन उनले आग्रह गरे ।

    उनले समस्या देखिएपछि मात्र प्रतिक्रिया दिनेभन्दा प्राधिकरण आफैँ सक्रिय भएर सेवाको अवस्था पहिचान गर्नुपर्नेमा जोड दिए। गुणस्तर परीक्षण र अनुगमनबाट देखिएका समस्या तत्काल सम्बोधन गर्ने गरी नियामकीय संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

    प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले देशभर दूरसञ्चार सेवाको नियमित अनुगमन तथा निरीक्षण भइरहेको बताए। न्यूनतम गुणस्तर मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही गरिने उनले बताए ।

    “टेलिफोन सेवाको गुणस्तर कमजोर भएको सन्दर्भमा हामीले सेवा प्रदायकलाई यसअघि सचेत गराउँदै आएका छौँ । अब कानुनअनुसार कति कारबाही र जरिवाना गर्न सकिन्छ, हामी गर्छौं,” घिमिरेले भने ।

    मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    मुख्य समाचार कोणस् राजधानीमै दूरसञ्चार सेवा कमजोर भएको गुनासो कायमै प्राधिकरणसँग उपकरण र अनुगमनको समस्या – मन्त्रीद्वारा सेवा सुधार र मापदण्ड नपुगे कारबाहीको निर्देशन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images