काठमाडौं काठमाडौंको थापाथलीमा मोटरसाइकल अनियन्त्रित भएर पुलको रेलिङमा ठोक्किएपछि विपरीत दिशाबाट आएको स्कुटरसँग समेत ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रौतहटको कटहरिया नगरपालिका–२ का २६ वर्षीय चन्द्रमान दास तत्मा रहेका छन् । गम्भीर घाइते उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल थापाथली पुलमा अनियन्त्रित भई रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१ नम्बरको स्कुटरसँग ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुवै जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । स्कुटर चालक र पछाडि सवार यात्रुलाई भने राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रौतहट कटहरिया नगरपालिका–२ का २५ वर्षीय दिपेन्द्र दास, चितवनका २३ वर्षीय स्कुटर चालक सुदिप श्रेष्ठ र सर्लाहीका ३४ वर्षीय मोहन शाह घाइते भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइते तीनै जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


विश्व खबर 




















