काठमाडौं– बाढी, पहिरो तथा अन्य विपद्का कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
सडक विभागका अनुसार उपत्यकासहित बागमती, गण्डकी र कर्णाली प्रदेशका सडकहरू प्रभावित भएका हुन् ।
विवरणअनुसार ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो गएपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकखण्ड असोज १५ गते दिउँसो ३: ३० बजेदेखि अवरुद्ध रहेको जनाइएको छ ।
रसुवामा बाढीका कारण मुख्य राजमार्गका सबै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । असोज १० गते बिहान १०: ३० बजेदेखि अवरुद्ध सडक तत्काल खुल्न नसकेको र अर्को सूचना नभएसम्मका लागि अवरुद्ध रहेको विवरणमा उल्लेख छ ।
गण्डकी प्रदेशमा मनाङको बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक असोज ८ गते साँझ ४ बजेबाट अवरुद्ध भएको हो ।
त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा पहिरो गएपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक असोज १० गते बिहान ५: ४० बजेदेखि बन्द रहेको छ ।
नवलपरासी पूर्वमा कालीगण्डकी करिडोर पनि पहिरोका कारण प्रभावित भएको छ । बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते बिहान ११: ३० बजे पहिरो गएपछि सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।
त्यस्तै, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा असोज १४ गते साँझ ४: ४५ बजे पहिरो गएपछि उक्त सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ । ठूलो गाडी भने जान नसक्ने अवस्था रहेको जनाइएको छ ।
कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । खार्पुनाथ गाउँपालिका–१ मसिडी र सर्केगाड गाउँपालिका–६ स्यालटडी क्षेत्रमा सडक अवरुद्ध भएको विवरणमा उल्लेख छ ।
उक्त सडक असोज ११ गते बिहान ७: ४० बजेदेखि बन्द छ । त्यस्तै, नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडेढुंगा क्षेत्रमा पहिरो गएपछि सिमकोट–हिल्सा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । यो सडक असोज १२ गते बिहान ९ बजेदेखि बन्द रहेको छ ।
सडक विभागको विवरणअनुसार यी सडकखण्डमा तत्काल आवागमन सहज हुन नसकेकाले यात्रु तथा सवारी चालकलाई सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने अवस्था देखिएको छ ।
हेर्नुहोस् विवरण–



विश्व खबर 



















