images
images
  • संघीय संसदका दुवै सदनको बैठक बस्दै, के–के छन् कार्यसूची ?

    काठमाडौं– संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

    प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्ने कार्यसूची रहेको छ ।

    प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने कार्यसूची छ ।

    त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ पेस गर्नेछन् ।

    बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ र भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै, राष्ट्रिय सभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन् । प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची पनि रहेको छ ।

    राष्ट्रिय सभाको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पुजा चौधरीले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images