images
images
  • राष्ट्रसंघमा अमेरिकी राष्ट्रपति ट्रम्पको कडा सम्बोधन : इरानलाई चेतावनी दिँदै अरुलाई के–के भने ?

    न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै आफ्नो प्रशासनका उपलब्धिसँगै इरानको परमाणू कार्यक्रम, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय फौजदारी अदालत, संयुक्त राष्ट्रसंघको बजेट, आप्रवासन तथा कृत्रिम बुद्धिमत्तालगायतका विषयमा अमेरिकी धारणा प्रस्तुत गरेका छन् ।

    सम्बोधनका क्रममा ट्रम्पले आफ्नो नेतृत्वमा अमेरिका पहिलेभन्दा बलियो अवस्थामा पुगेको दाबी गरे । उनले अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, सीमासुरक्षा तथा प्रविधिको क्षेत्रमा आफ्नो प्रशासनले उल्लेखनीय प्रगति गरेको बताए ।

    इरानको विषयमा ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणू हतियार विकास गर्न नदिने धारणा दोहोर्याए । उनका अनुसार अमेरिकाले इरानसँग वार्ताको अवसर दिएको भए पनि त्यसबाट अपेक्षित परिणाम आउन सकेन । उनले इरानी शासनमाथि मध्यपूर्वमा हिंसा र अस्थिरता बढाएको आरोप लगाउँदै परमाणू हतियार प्राप्त गर्ने प्रयास रोक्न अमेरिकाले कारबाही गरेको दाबी गरे ।

    रुस–युक्रेन युद्धबारे ट्रम्पले युद्ध अन्त्यका लागि आफूले दुवै देशका नेतासँग नजिकबाट काम गरिरहेको बताए । उनले आफू शान्ति स्थापनाका लागि पहल गरिरहेको उल्लेख गर्दै युद्धको समाधान चाँडै निस्कने दाबी गरे ।

    ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को अधिकार क्षेत्र र वैधतामाथि पनि प्रश्न उठाए । अमेरिकी नागरिक तथा सैनिकमाथि आईसीसीले अनुसन्धान वा मुद्दा चलाउन नहुने उनको धारणा थियो ।

    संयुक्त राष्ट्रसंघको भूमिकाबारे बोल्दै ट्रम्पले बजेट कटौती र संस्थागत सुधारको आवश्यकता औँल्याए । उनले राष्ट्रसंघको खर्च र कर्मचारी संख्या घटाइएको दाबी गर्दै विश्व संस्थाले आफ्नो काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने बताए ।

    त्यस्तै, ट्रम्पले विश्वव्यापी करको विरोध गर्दै अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा नयाँ कार्बन कर लागू हुन नदिएको दाबी गरे । अमेरिकी सीमा सुरक्षालाई पनि उनले आफ्नो प्रशासनको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे । अवैध आप्रवासन नियन्त्रणमा आफ्नो प्रशासनले ठूलो सफलता हासिल गरेको उनको दाबी थियो ।

    कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धमा ट्रम्पले यसको विकासमा अन्तर्राष्ट्रिय नियन्त्रण लगाउने प्रयासको विरोध गरे । अमेरिकाले एआईको क्षेत्रमा नेतृत्व कायम राख्नुपर्ने बताउँदै उनले प्रविधिलाई अझ उन्नत ‘सुपर इन्टेलिजेन्स’ को दिशामा अघि बढाउनुपर्ने धारणा राखे ।

    सम्बोधनका क्रममा ट्रम्पले डेनमार्क र ग्रिनल्यान्डसँग अमेरिकी सैन्य उपस्थितिसम्बन्धी नयाँ समझदारी भएको दाबीसमेत गरे । उनले अमेरिकाले सेनामा अहिलेसम्मकै ठूलो लगानी गरिरहेको उल्लेख गर्दै आफ्नो दोस्रो कार्यकालमा अर्थतन्त्र, सुरक्षा र प्रविधिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images