images
images
  • ४५ वर्षपछि आफ्नै भवनमा सर्‍यो बाजुराको कोष तथा लेखा नियन्त्रक कार्यालय

    काठमाडौं– लामो समय भाडाको घरबाट सञ्चालन हुँदै आएको बाजुराको कोष तथा लेखा नियन्त्रक कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

    सदरमुकाम मार्तडीस्थित खेलकुद रोडमा निर्माण गरिएको भवनबाट कार्यालयले सोमबारदेखि सेवा दिन थालेको हो । विसं २०३८ मा स्थापना भएको कार्यालयले ४५ वर्षसम्म आफ्नै भवन नहुँदा निजी घर मासिक ५० हजार रुपैयाँ भाडा तिरेर सेवा दिँदै आएको थियो ।

    कार्यालयका सूचना अधिकारी धनबहादुर थापाका अनुसार नयाँ भवन निर्माणका लागि २०८१ चैत १० गते सम्झौता भएको थियो ।

    दुई करोड १२ लाख रुपैयाँको लागतमा निर्माण कम्पनीले २०८३ असोज मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

    तर निर्धारित समयभन्दा करिब एक महिनाअघि नै भवन निर्माण सम्पन्न भएपछि कार्यालय नयाँ भवनमा सरेको हो ।

    नयाँ भवनबाट सेवा सुरु भएपछि कार्यालय व्यवस्थापनसँगै सेवाग्राहीलाई पनि सहज भएको थापाले बताए ।

    यसअघि साँघुरो भाडाको घरबाट सेवा दिँदा सेवाग्राही तथा कर्मचारी दुवैलाई समस्या हुँदै आएको थियो ।

    नौ महिनामा झण्डै दुई हजार प्यान वितरण

    बाजुरामा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पछिल्लो नौ महिनामा एक हजार ९७९ वटा स्थायी लेखा नम्बर वितरण भएका छन् ।

    कार्यालयका अनुसार २०८२ मङ्सिरदेखि असारसम्म एक हजार ६६४ र चालु आर्थिक वर्षमा हालसम्म ३१५ वटा स्थायी लेखा नम्बर वितरण गरिएको छ ।

    हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या एक हजार २७१ पुगेको छ भने व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता ६८० पुगेका छन् ।

    यस्तै, २८ गैरसरकारी संस्थाले पनि स्थायी लेखा नम्बर लिएका छन् ।

    स्थानीय तहबाट हाल व्यावसायिक स्थायी लेखा नम्बरका लागि सिफारिस मात्रै भइरहेको र दर्ता तथा वितरणको काम कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै भइरहेको थापाले बताए ।

    बाजुरामा ८९ प्रतिशत बजेट खर्च

    गत आर्थिक वर्ष २०८२/८३ मा बाजुरामा विनियोजित बजेटमध्ये ८९.१७ प्रतिशत खर्च भएको छ ।

    संघीय कार्यालय तथा स्थानीय तहको चालुतर्फ विनियोजित चार अर्ब १७ करोड ८५ लाख ८० हजार रुपैयाँमध्ये तीन अर्ब ७२ करोड ६३ लाख २१ हजार ७२३ रुपैयाँ खर्च भएको छ ।

    पुँजीगततर्फ विनियोजित ३५ करोड १६ लाख ६८ हजार रुपैयाँमध्ये २३ करोड ९२ लाख ५० हजार ५४२ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

    प्रदेश सरकारअन्तर्गतका कार्यालयको चालुतर्फ ७२ करोड ७७ लाख ९८ हजार ३८० रुपैयाँ बजेटमध्ये ५१ करोड ७६ लाख ४९ हजार ९२० रुपैयाँ खर्च भएको छ । यो ७१ प्रतिशत हो ।

    पुँजीगततर्फ विनियोजित ४८ करोड १२ लाख १२ हजार रुपैयाँमध्ये ३२ करोड १९ लाख ३१० रुपैयाँ खर्च भएको छ। प्रदेशतर्फ पुँजीगत खर्च करिब ६६ प्रतिशत रहेको छ ।

    कार्यालयका अनुसार विकास आयोजना समयमै सम्पन्न नहुनु, ठेक्का व्यवस्थापनमा देखिने समस्या तथा आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने प्रवृत्तिले पुँजीगत खर्च प्रभावित हुने गरेको छ ।

    चार करोड ४३ लाख राजस्व सङ्कलन

    बाजुराका सरकारी कार्यालय तथा नौवटै स्थानीय तहले गत आर्थिक वर्षमा आन्तरिक राजस्वबाहेक चार करोड ४३ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।

    मालपोत, दर्ता दस्तुर, सेवा शुल्क, जरिवाना तथा अन्य विभिन्न शीर्षकबाट उक्त राजस्व सङ्कलन भएको हो । अघिल्ला वर्षको तुलनामा जिल्लामा राजस्व सङ्कलनमा सुधार देखिएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images