काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखिया छन् । धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई मंगलबार साँझ शहीदनगर–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको छ । साथै, उक्त अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानसमेत तीव्र पारिएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार विभिन्न मुलुक, विशेषगरी मलेसियालगायतका देशबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धान तथा वित्तीय कारोबारको विश्लेषणबाट ठूलो रकमको अवैध कारोबार भएको खुलेको हो ।
अनुसन्धानका क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार भएको पुष्टि भएको सीआईबीले जनाएको छ ।
सीआईबीले अवैध तथा आपराधिक गतिविधिसम्बन्धी सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गर्दै सूचनाको स्रोत र सूचनादाताको उच्च गोपनीयता कायम राखिने जनाएको छ ।


विश्व खबर 



















