काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । महाशाखाका अनुसार अहिले मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने लुम्बिनीको तराई क्षेत्रमा पनि आंशिक बदली देखिएको छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कहाँ–कहाँ वर्षा ?
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भू–भागका केही स्थान तथा कर्णालीको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।
त्यस्तै, देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग, बागमतीको तराई र गण्डकीको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।
राति पनि वर्षा जारी रहने
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ ।
कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनीका पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
तराईतर्फ मधेश तथा कोशी प्रदेशका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।


विश्व खबर 



















