काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण हिमबाढीले पूर्वाधार क्षेत्रमा मात्रै करिब एक खर्ब ९० अर्ब रुपैयाँको क्षति पुर्याएको छ । बाढीबाट प्रभावित क्षेत्रको पुनःउत्थान तथा पुनर्निर्माणका लागि भने चार खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यकताको मूल्याङ्कन’ प्रतिवेदनले बाढीबाट ऊर्जा, सडक, पुल, सञ्चार, खानेपानी तथा सिँचाइलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको देखाएको हो ।
ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो क्षति
प्रतिवेदनअनुसार बाढीबाट ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुगेको छ । बाढीका कारण कुल ७५९ दशमलव २५ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । यसमा २४ दशमलव ३६ मेगावाट क्षमताका पाँचवटा सौर्य आयोजनासमेत छन् ।
बाढीले एउटा विद्युत् उपकेन्द्र, तीनवटा प्रसारण लाइन, एउटा स्विचयार्ड र एउटा वितरण लाइनमा क्षति पुर्याएको छ ।
ऊर्जा क्षेत्रमा मात्रै एक खर्ब ५१ अर्ब चार करोड रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । यसको पुनःउत्थानका लागि तीन खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
घरायसी नवीकरणीय ऊर्जातर्फ पनि उल्लेख्य क्षति पुगेको छ । दुई हजार ४५० वटा सौर्य घरेलु प्रणाली, दुई हजार ७४० वटा बायोग्यास प्रणाली, १३ वटा संस्थागत सौर्य प्रणाली, ९२ किलोवाट क्षमताको लघुजलविद्युत्, १८५ वटा पानीघट्ट र ७९५ वटा खाना पकाउने चुल्होमा क्षति पुगेको छ ।
यस क्षेत्रमा ५६ करोड रुपैयाँको क्षति भएको र पुनःउत्थानका लागि एक अर्ब ६४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
६९ किलोमिटर सडकमा क्षति
बाढीका कारण ६९ किलोमिटर सडकमा क्षति पुगेको छ। त्यसमध्ये ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख छ ।
पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा मात्रै करिब १५० मिटर सडकमा क्षति पुगेको छ ।
सडक संरचनामा २३ अर्ब ४२ करोड रुपैयाँको क्षति भएको र पुनःउत्थानका लागि ५५ अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
३३ मोटरेबल र ५३ झोलुङ्गे पुल प्रभावित
बाढीले ३३ वटा मोटरेबल पुल पूर्ण रूपमा बगाएको छ भने चारवटा पुलमा आंशिक क्षति पुगेको छ ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ। तीमध्ये ३३ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
पुल संरचनामा मात्रै ११ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको छ भने पुनःउत्थानका लागि १८ अर्ब १६ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
सञ्चार पूर्वाधारमा पनि ठूलो असर
बाढीका कारण सञ्चार क्षेत्रमा नेपाल टेलिकम र एनसेलका गरी ६५ वटा आधारभूत दूरसञ्चार केन्द्रका टावर प्रभावित भएका छन् ।
एनसेलका २७ र नेपाल टेलिकमका ३८ वटा टावरमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। अधिकांश टावर भने पुनः सञ्चालनमा आइसकेका छन् ।
त्यस्तै, १५२ दशमलव तीन किलोमिटर प्रकाशीय रेशा तार तथा दुईवटा प्रसारण प्रणाली प्रभावित भएका छन् ।
यस क्षेत्रमा करिब ६३ करोड रुपैयाँको क्षति भएको र पुनःउत्थानका लागि ९४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
खानेपानी र सिँचाइमा पनि क्षति
खानेपानी तथा सरसफाइ क्षेत्रमा एक अर्ब ३८ करोड रुपैयाँको क्षति पुगेको छ। बाढीले १६ वटा इनार, ९८ वटा पानीका मुहान, १६० वटा पानी भण्डारण ट्याङ्की तथा ४४३ दशमलव नौ किलोमिटर पाइपलाइनमा क्षति पुर्याएको छ ।
यस क्षेत्रको पुनर्निर्माणका लागि दुई अर्ब सात करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
त्यस्तै, नदी संरक्षण तथा सिँचाइ क्षेत्रमा चार हजार ९९० मिटर नदी संरक्षण संरचना, ७०० हेक्टर सिँचाइ क्षेत्र र छवटा जलसतह मापन केन्द्र प्रभावित भएका छन् ।
यस क्षेत्रमा करिब एक अर्ब ६५ करोड रुपैयाँको क्षति भएको छ भने पुनःउत्थानका लागि चार अर्ब ९४ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।
भोटेकोशी बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कनले विपद्पछि पूर्वाधार पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखाएको छ ।
सरकारले क्षतिग्रस्त संरचनाको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।






















