images
images
  • नेपालमा चार महिनादेखि आईपीओ ठप्प, भारतमा एकैदिन नौ कम्पनीको निष्कासन

    काठमाडौं– नेपालको प्राथमिक सेयर बजार चार महिनादेखि ठप्प हुँदा छिमेकी भारतमा भने एकैदिन नौ कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेका छन् ।

    नेपालमा नियामक नेतृत्व परिवर्तन, नीतिगत अन्योल र नयाँ व्यवस्था निर्माणमा भएको ढिलाइका कारण नयाँ कम्पनीले प्राथमिक सेयर निष्कासनको अनुमति पाउन सकेका छैनन् ।

    हाल बेनी हाइड्रोपावरको प्राथमिक सेयर निष्कासन भइरहे पनि यो नयाँ स्वीकृति होइन । कम्पनीले अघिल्लो वर्ष नै अनुमति पाइसकेको थियो । आन्तरिक कारणले रोकिएको निष्कासन प्रक्रिया अहिले अघि बढाइएको हो ।

    प्राथमिक बजार लामो समय बन्द हुँदा लगानीकर्ता र व्यवसायीले बजारको विस्तार तथा नयाँ पुँजी परिचालनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् । अर्कोतर्फ, दोस्रो बजारका केही लगानीकर्ताले बजारमा निरन्तर नयाँ सेयर तथा हकप्रद थपिँदा आपूर्ति बढेको भन्दै केही समय प्राथमिक सेयर निष्कासन रोक्नुपर्ने तर्क गर्दै आएका छन् ।

    यता भारतमा भने कम्पनीको आकार र प्रकृतिअनुसार मुख्य बजार र साना तथा मझौला उद्योग केन्द्रित छुट्टाछुट्टै प्राथमिक सेयर बजार सञ्चालनमा छन् । मुख्य बजारतर्फ ठूला तथा स्थापित कम्पनी र साना तथा मझौला उद्योग केन्द्रित बजारतर्फ साना कम्पनीले पुँजी जुटाउँदै आएका छन् ।

    भारतमा एकैदिन छ ठूला कम्पनी र तीन साना तथा मझौला कम्पनी गरी नौ कम्पनीले प्राथमिक सेयर निष्कासन सुरु गरेका छन् । यसबाट ठूलो मात्रामा पुँजी परिचालन भइरहेको छ ।

    नेपालमा भने प्राथमिक बजारलाई निरन्तरता दिनुको सट्टा दोस्रो बजारको उतारचढावसँग जोडेर निष्कासन रोक्ने प्रवृत्तिले बजारको स्वाभाविक माग–आपूर्ति चक्र प्रभावित हुने जानकारहरूको भनाइ छ ।

    विशेषज्ञहरूले जलविद्युत्, उत्पादन, प्रविधि तथा अन्य व्यवसायका लागि दीर्घकालीन पुँजी जुटाउने प्राथमिक सेयर बजारलाई नियमित, पारदर्शी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका छन् ।

    नेपालको पुँजी बजारलाई क्षेत्रीय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य लिइरहँदा महिनौँसम्म प्राथमिक बजार ठप्प रहनु भने गम्भीर विरोधाभासका रूपमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images