images
images
  • टिमुरेमा भोटेकोसीको बाढीले बैंकका शाखा कार्यालयमा ठूलो क्षति

    काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भोटेकोसीको भीषण बाढीले बस्ती र भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

    नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा कार्यालयमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । तर सञ्चार सेवा अवरुद्ध रहेकाले कर्मचारी तथा शाखा कार्यालयसँग सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण संकलन गर्न कठिन भइरहेको संघले जनाएको छ ।

    नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढीको जानकारी पाएलगत्तै संघले आकस्मिक बैठक बसेर क्षतिको विवरण संकलन तथा उद्धारका विषयमा छलफल गरेको थियो । बैठकले प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीको उद्धारका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

    कोइरालाका अनुसार केही बैंकका कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। सञ्चार सम्पर्क स्थापित हुन थालेपछि बाढीबाट भएको क्षतिको विवरण क्रमशः संकलन गरिने उनले बताए ।

    संघका अनुसार बाढी प्रभावित टिमुरे क्षेत्रमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आइएमई, माछापुच्छ्रे, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलगायतका बैंकका शाखा सञ्चालनमा थिए ।

    बाढीले शाखा कार्यालयका भवन, बैंकिङ उपकरण तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आए पनि क्षतिको पूर्ण विवरण भने उद्धार कार्य र सञ्चार सेवा सहज भएपछि मात्र स्पष्ट हुने संघले जनाएको छ ।

    बाढी प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीको सुरक्षा तथा उद्धारलाई प्राथमिकतामा राखिएको र सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images