images
images
  • रसुवामा बाढी आउनुअघि तिब्बतमा ४.४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं-रसुवामा बुधबार बिहान अचानक ठूलो बाढी प्रवेश गर्नुअघि नेपाल–चीन सीमा नजिकै भूकम्प गएको विवरण सार्वजनिक भएको छ। नेपाली समयअनुसार बिहान करिब ८ः३७ बजे नेपाल–चीन सीमाको तिब्बततर्फ ४.४ म्याग्निच्युडको भूकम्प गएको दाबी गरिएको छ। त्यसको करिब १३ मिनेटपछि, बिहान ९ बजेतिर तिब्बततर्फबाट ठूलो परिमाणमा पानी अचानक नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

    भूकम्प गएको भनिएको क्षेत्र आसपास ग्वक्वीङको र ग्वाङको नामका हिमताल रहेको तथा ती क्षेत्रबाट पानीको बहाव नेपालतर्फ आउन सक्ने सम्भावना रहेको स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणमा देखिएको दाबी गरिएको छ। भिडियो फुटेजमा बाढीको तीव्र बहावसँगै बरफ वा हिमजन्य पदार्थसमेत मिसिएको जस्तो देखिए पनि यसको वास्तविक प्रकृति र स्रोतबारे प्राविधिक अध्ययन आवश्यक देखिएको छ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि बाढीको कारण अहिलेसम्म यकिन नभएको बताएका छन्। उनका अनुसार बाढी अचानक आएको थियो। माथिल्लो क्षेत्रमा हिमताल फुटेको हुनसक्ने आशंका रहे पनि त्यसको पुष्टि भइसकेको छैन।

    canva2 29बाढीले टिमुरे, स्याप्रुबेसीलगायतका क्षेत्रमा क्षति पुर्‍याएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा समेत पानीको बहाव बढेको छ। बाढीका कारण रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएका छन्। यसैबीच, तिब्बतको जिलङ काउन्टीतर्फ भने उक्त घटनाबाट ठूलो क्षति नभएको स्थानीय प्रशासनले जानकारी दिएको बताइएको छ।

    भूकम्पको विवरणमा भने थप सावधानी आवश्यक देखिएको छ। उपलब्ध भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रको रेकर्डमा बुधबार बिहान करिब ९ बजे लद्दाख क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प रेकर्ड भएको देखिन्छ। उक्त विवरण रसुवा नजिकै बिहान ८ः३७ बजे गएको भनिएको भूकम्पसँग मेल खान्छ वा फरक घटना हो भन्ने विषय सम्बन्धित भूकम्प मापन निकायबाट पुष्टि हुन बाँकी छ।

    रसुवाको बाढी र भूकम्पबीच प्रत्यक्ष कारण–सम्बन्ध रहेको दाबी तत्काल निष्कर्षका रूपमा गर्नु उपयुक्त देखिँदैन।बाढीको वास्तविक स्रोत पहिचान गर्न स्याटेलाइट तस्बिर, भौगोलिक अध्ययन तथा स्थलगत प्राविधिक निरीक्षण आवश्यक हुनेछ। बाढीको जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङलगायत त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images