काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरी र शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको प्रकरणमा सरकारको कडा आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै आचार्यले गृह मन्त्रालयको कार्यशैली र अनुसन्धानका क्रममा अपनाइएका प्रचारमुखी प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाए ।
उनले गरिमाका बुबाआमालाई काठमाडौं बोलाएर मन्त्रालयमा भिडियो खिच्नु सरकारको काम नभएको बताउँदै सो कार्य तत्काल बन्द गर्न माग गरे ।
साथै, आरोपितको बयान र अस्पतालमा सोधपुछको भिडियो सार्वजनिक हुनुले कानुनी राज्यको उपहास गरेको उनको तर्क छ ।
वसन्त कालाखेतीको मृत्यु प्रकरणमा उनले होस्टेलमा बस्ने युवाहरूको सुरक्षामा प्रश्न उठाउँदै वसन्तकी आमाको मृत्यु र बुवा विदेशबाट फर्कन नपाएको पीडादायी अवस्था सदनमा उठाए ।
महामन्त्री आचार्यले सरकारलाई प्रचारमा नभई वास्तविक न्याय र नागरिकको सुरक्षामा केन्द्रित हुन आग्रह गरेका छन् ।






















