images
images
  • बिचौलिया नवीन बस्नेत : पहिले ओली–महेशको सहारामा उन्मुक्ति, अहिले ‘बेन’को आडमा अवैध चलखेल

    काठमाडौं– १८ चैत २०६९ मा प्रहरीले गुह्येश्वरीबाट २ सय २६ केजी रक्तचन्दन बरामद गर्यो ।

    बा १ ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाइएको सो चन्दन भक्तपुरतर्फ लगिँदै थियो ।

    यो रक्तचन्दनका मालिक थिए, नवीनराज बस्नेत ।

    प्रहरीले चालक भीमबहादुर सुनुवार र सहचालक खेमबहादुर सिंहलाई पक्राउ गर्यो, तर बस्नेत भने मोटरसाइकलमा गाडीको अघि–पछि गर्दै भाग्न सफल भए ।

    त्यतिबेला काठमाडौं प्रहरी परिसरका प्रमुख थिए– राजेन्द्र श्रेष्ठ ।

    नेकपा (एमाले) नेता महेश बस्नेतको पहुँच प्रयोग गरी नवीनराजलाई जोगाउने प्रयास भयो ।

    उनी प्रहरी प्रमुख श्रेष्ठ कहाँ पुगे पनि जिल्ला वन कार्यालयले चालक र सहचालकविरुद्ध मात्र मुद्दा दायर गर्यो ।

    ९ वैशाख ०७० मा जिल्ला अदालतले उनीहरूलाई ६–६ महिना कैद र ३ लाख ६१ हजार ६ सय रुपैयाँ जरिवाना तथा गाडी जफतको फैसला गर्यो ।

    तर, नवीन बस्नेतको ‘स्थायी ठेगाना नखुलेको’ भन्दै प्रहरीले उनलाई छुट दियो ।

    अदालतले पनि ‘वास्तविक वतन खुलेमा मात्र कारबाही अघि बढ्ने’ भनी उनको मुद्दा तामेलीमा राख्यो ।

    तर, प्रहरी र वन कार्यालय दुवैले उनको ठेगाना पत्ता लगाउने कुनै प्रयास गरेनन् ।

    सहयोगीहरू जेल पर्दा, नवीनले महेश बस्नेतको राजनीतिक प्रभाव प्रयोग गरी उन्मुक्ति पाए ।

    रक्तचन्दनबाट सुन तस्करीसम्मको यात्रा

    प्रहरी स्रोतका अनुसार २०७४ भदौ १४ मा टोखाबाट १४ किलो सुन बरामद भयो ।

    त्यो सुन पनि रक्तचन्दन तस्करकै समूहले ल्याएको थियो, जसमा नवीन बस्नेतको संलग्नता रहेको पुष्टि भए पनि उनलाई फेरि छुट दिइयो ।

    त्यसपछि बस्नेत बिचौलियाको भूमिकामा सक्रिय भए ।

    एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनले महेश बस्नेत र ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको निकटता प्रयोग गरे ।

    उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी–वे र एप्रोनको ठेक्का समेत लिएका थिए, जसमा उनी ‘क्षमादेवी’ कम्पनीमार्फत आबद्ध थिए ।

    अख्तियार प्रमुखलाई धम्की र बस्नेतको भूमिका

    पछिल्लो समय नवीन बस्नेतको कनेक्सन तत्कालीन क्यानका महानिर्देशक प्रदीप अधिकारीसँग पनि जोडियो ।

    ह्वाट्सएप च्याटमा बस्नेतले अधिकारीलाई अख्तियारको मुद्दा ‘मिलाइदिने’ आश्वासन दिएको देखिन्छ ।

    सोही क्रममा अख्तियार प्रमुख प्रेम राईलगायतलाई ज्यान मार्ने धम्की दिन २ करोड रुपैयाँको सुपारी दिइएको खुलेको छ ।

    उक्त धम्कीपत्रको पीडीएफ बस्नेतकै मोबाइलबाट पठाइएको डिजिटल फरेन्सिक रिपोर्टले पुष्टि गरेको छ ।

    तैपनि, प्रहरीले बस्नेतलाई सो मुद्दामा समेत कारबाही नगरी छुट दियो ।

    एमाले नेता महेश बस्नेत र सञ्चार उद्यमी रामेश्वर थापाको प्रभावमा तत्कालीन प्रहरी प्रमुख रमेश थापालाई पारी मुद्दा रोकिएको स्रोतको दाबी छ ।

    ७ महिनामा ६ फोन, करोडौंको सम्पत्ति

    अनुसन्धानले देखाएको छ, ७ महिनाको अवधिमा बस्नेतले ६ थान नयाँ आइफोन प्रयोग गरेका छन् ।

    उनका नाममा आधा दर्जन कम्पनी तथा भक्तपुरको दुवाकोटमा मात्र ७२ रोपनी जग्गा रहेको स्रोत बताउँछ ।

    उक्त जग्गा खरिदमा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको पनि लगानी रहेको दाबी गरिएको छ ।

    अहिले ‘बेन’ को नाममा चलखेल

    नवीन बस्नेतले पछिल्लो समय प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसँगको ‘मिलेको’ दाबी गर्दै आफू निकटका व्यवसायी र पत्रकारहरूलाई चिन्ता नलिन आग्रह गरेका छन् ।

    करिब एक साताअघि सिंहदरबार पूर्वी गेट नजिकको एउटा कार्यालयमा भएको भेटमा बस्नेतले भनेका थिए–
    ‘राजेश बज्राचार्य दाइ र मैले भेटेर कुमार बेनसँग कुरा मिलाएका छौं । बेनलाई ओली प्रधानमन्त्री हुँदा राजेश दाइले बालुवाटारमा काम दिनुभएको थियो । त्यही गुन फिर्ता गर्ने भनेका छन् बेनले ।’

    यो अभिव्यक्तिले उनले पहिले महेश बस्नेत र अहिले कुमार बेनको नाम प्रयोग गरी प्रभाव विस्तार गर्न खोजेको संकेत गर्छ ।

    प्रहरी भने उनकै गतिविधिमा केन्द्रित अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images