काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवनमा भएको आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको फरेन्सिक परीक्षणबाट पुष्टि भएको छ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले प्राप्त गरेको भारतको नयाँ दिल्लीस्थित सेन्ट्रल फरेन्सिक साइन्स ल्याबोरेटरीको परीक्षण प्रतिवेदनअनुसार आगजनी भएका विभिन्न स्थानबाट संकलन गरिएका १६ नमुनामा पेट्रोलियम हाइड्रोकार्बनका अवशेष भेटिएका छन्। परीक्षणका लागि पठाइएको एउटा झोल पदार्थ पेट्रोल रहेको समेत प्रतिवेदनमा उल्लेख छ।
संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार परिसरका जलेका मन्त्रालयका भवन तथा राष्ट्रपति भवनलगायतका स्थानबाट खरानी, अँगार, माटो, जलेका तार, काठ र कपडाका नमुना संकलन गरी भारत पठाइएको थियो। ती नमुनालाई भौतिक–रासायनिक परीक्षण, रसायन परीक्षण, थिन लेयर क्रोमाटोग्राफी तथा ग्यास क्रोमाटोग्राफी–मास स्पेक्ट्रोफोटोमेट्री विधिबाट परीक्षण गरिएको थियो।
रसायनशास्त्री डा. वसन्त गिरीका अनुसार पेट्रोलियम पदार्थको अवशेष भएको नमुनामा हाइड्रोकार्बन भेटिनु पेट्रोलियम पदार्थ प्रयोग भएको संकेत हो।
नेपाल सरकारले भारतसँग समन्वय गरी नमुना परीक्षण गराएको भए पनि उक्त फरेन्सिक प्रतिवेदन सार्वजनिक गरेको छैन। भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले पनि फरेन्सिक प्रतिवेदन प्राप्त नगरेको जनाएको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले नमुना परीक्षणका लागि पठाइएको जानकारी पाए पनि प्रतिवेदन आयोगलाई उपलब्ध नगराइएको बताए। आयोगले भविष्यमा यस्ता नमुना नेपालमै परीक्षण गर्न सकिने प्रयोगशाला व्यवस्था गर्न सुझाव दिएको छ।
निमजिनको खोजअनुसार भारतको गृह मन्त्रालयमार्फत फरेन्सिक प्रतिवेदन माघ २६ गते नेपालको परराष्ट्र मन्त्रालयमा आएको थियो। परराष्ट्र मन्त्रालयले माघ २९ गते उक्त प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो। प्रयोगशालाले माघ ३ गतेदेखि परीक्षण सुरु गरी माघ १६ गते प्रतिवेदन तयार गरेको थियो।
जेन–जी आन्दोलनका क्रममा देशभर सरकारी, निजी तथा सामुदायिक गरी २ हजार ६ सय ७१ भवनमा तोडफोड तथा आगजनी भएको राष्ट्रिय योजना आयोगको क्षति मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ। तीमध्ये २ हजार १ सय ३४ सरकारी भवन रहेको जनाइएको छ।
आन्दोलनका क्रममा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरमा समेत संसद् भवनसहित विभिन्न स्थानमा पेट्रोल बम प्रयोग भएको देखिन्छ। निमजिनले संकलन तथा विश्लेषण गरेका त्यस्ता दृश्यमा प्रदर्शनकारीको हातमा पेट्रोल तथा पेट्रोल बम देखिएको उल्लेख गरेको छ। -सीआइजे






















