images
images
  • पोखरामा प्रधानमन्त्री शाहको फरक बसाई, अन्नपूर्ण इको भिलेजका १२ कोठा बुक

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह पोखरा भ्रमणका क्रममा सामान्य होटलमा नभई माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने तयारीमा छन्।

    प्रधानमन्त्री शाह र उनको भ्रमण टोलीका लागि इको भिलेजका तीनवटा ब्लकमा गरी १२ वटा कोठा बुक गरिएकोबताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीसहितको टोली शुक्रबार पोखरामा रहनेछ र एक रात अन्नपूर्ण इको भिलेजमै बस्ने तयारी छ ।

    पोखरा बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको अस्ताम प्राकृतिक सौन्दर्य र शान्त वातावरणका लागि परिचित छ। इको भिलेजबाट माछापुच्छ्रे हिमशृंखला, पोखरा उपत्यका तथा आसपासका ग्रामीण बस्तीको मनोरम दृश्य देखिन्छ ।

    प्रधानमन्त्रीको बसाइँलाई ध्यानमा राख्दै रिसोर्टमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। भ्रमण टोलीको आवतजावत, आवास र अन्य व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ जाने तयारीमा रहेका बेला अन्नपूर्ण इको भिलेजमा बस्ने कार्यक्रम तय भएको हो। मुस्ताङ जाने सडकको अवस्थालाई ध्यानमा राख्दै हेलिकप्टरबाट मुक्तिनाथ जाने तयारी गरिएको बताइएको छ ।

    प्रधानमन्त्रीको मुस्ताङ भ्रमणमा कुनै औपचारिक सरकारी कार्यक्रम नरहेको र मुक्तिनाथ दर्शन मुख्य उद्देश्य रहेको स्रोतको भनाइ छ ।

    शहरको व्यस्तता र औपचारिक सरकारी कार्यक्रमभन्दा बाहिर प्रधानमन्त्री शाहले प्रकृतिको नजिक रहेको पर्यटकीय गन्तव्य रोज्नुले उनको यसपटकको पोखरा बसाइँलाई केही फरक बनाएको छ। सुरक्षा व्यवस्थाका कारण इको भिलेजमा अन्य पाहुनाको आवागमनमा समेत केही प्रतिबन्ध लगाइएको हुनसक्ने बताइएको छ ।

    यद्यपि प्रधानमन्त्रीको भ्रमण टोलीमा को–को रहने, १२ कोठा कसरी व्यवस्थापन गरिएको हो र बसाइँको खर्च कसले व्यहोर्ने भन्ने विषयमा औपचारिक विवरण सार्वजनिक भइसकेको छैन ।

    प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण मौसम तथा सुरक्षा अवस्थाअनुसार परिवर्तन हुन सक्ने सुरक्षा स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images