काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वसञ्चारमन्त्री तथा सांसद जगदीश खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ता मनोनीत गरेको हो भने प्रमोद न्यौपानेलाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।
यो नियुक्ति यस्तो बेला भएको हो, जब खरेलको नाम स्मार्ट टेलिकम (स्मार्टसेल)को सम्पत्ति लिलामी प्रकरणमा जोडिएको छ ।
स्मार्ट टेलिकमको लाइसेन्स तथा सम्पत्ति लिलामी प्रक्रियामा तत्कालीन सञ्चारमन्त्री खरेलसहित उच्च अधिकारीहरूको भूमिकाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो, जसमा आयोगले कारबाही अघि बढाएको विवरण सार्वजनिक भएको छ ।
यसैगरी, यस प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि गरिरहेको छ ।
प्रकरणको विवादित पक्ष यो हो कि स्मार्ट टेलिकमले सरकारलाई बुझाउनुपर्ने नवीकरण शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषलगायतको करिब ३० अर्ब रुपैयाँ दायित्व नतिरेपछि लाइसेन्स खारेज भएको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले सो सम्पत्ति सरकारको स्वामित्वमा आएको दाबी गरे पनि बैंकको ऋण असुली प्रक्रियामार्फत सोही सम्पत्ति लिलामी भई एनसेलले ४ अर्ब ६० करोड रुपैयाँमा प्राप्त गर्ने प्रक्रिया अघि बढेको थियो ।
यसले राज्यको स्वामित्वको सम्पत्ति कसरी निजी कम्पनीसम्म पुग्यो भन्ने गम्भीर प्रश्न उठाएको छ ।
यद्यपि, खरेलमाथि कुनै कसुर प्रमाणित भइसकेको छैन ।
उनले आफू स्मार्ट टेलिकमसम्बन्धी कुनै बैठकमा नभएको र फाइलसमेत नहेरेको दाबी गर्दै आफ्नो संलग्नता प्रमाणित भए राजनीतिबाटै सन्यास लिने चुनौती दिएका छन् ।
अब रास्वपाको नयाँ प्रवक्ताका रूपमा खरेलको पहिलो परीक्षा आफ्नै नाम जोडिएको यस प्रकरणमा उठेका प्रश्नको तथ्य र कागजातसहित जवाफ दिनु रहेको देखिन्छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिमाथि उठेका प्रश्नको निष्पक्ष अनुसन्धान र पारदर्शी जवाफदेहिता भने अपरिहार्य हुनेछ ।






















