काठमाडौं– राप्रपाले बागमती प्रदेश सभाका संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्य र प्रदेश सभा सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभागी तीन मन्त्रीलाई पनि निर्देशन नमाने कारबाही गरिने चेतावनी दिँदै पार्टी तटस्थ बस्ने निर्णय दोहोर्याएका छन् ।
नेता कमल थापाले भने यो कारबाही विधि र विधानविपरीत भएको बताएका छन् ।
बागमतीका बहुमत सांसदले भने संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।
एमाले–नेकपा गठबन्धनले बागमतीमा सरकार बनाउन राप्रपाको समर्थन खोजेपछि थापाले केन्द्रको निर्देशनविपरीत एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए ।
सोही विषयलाई लिएर पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको हो ।
राप्रपामा सत्ताको खेलले विग्रह आउनु नौलो होइन ।
विगतमा पनि यस पार्टीमा पटक–पटक विभाजन र विवाद भएका छन् ।
२०४६ पछि स्थापना भएको यो पार्टी राजनीतिक उतारचढावका कारण धेरै पटक टुक्रिएको छ ।
पछिल्लो समय एकीकरण भए पनि हरेक ठूलो राजनीतिक घटनामा यहाँ विवाद उत्पन्न हुने क्रम जारी छ ।






















