काठमाडौं– सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई सरकारले गरेको नियुक्ति बदर गरेको छ ।
न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति बदर गर्ने फैसला गरेको हो । यो फैसलासँगै निगमका अध्यक्ष श्रेष्ठ एक महिनामै स्वत: पदमुक्त भएका छन् ।
नेपाल वायु सेवा निगम संञ्चालक सदस्य रहेका श्रेष्ठलाई गत असार ३० गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्नेगरी अध्यक्ष नियुक्त गरेको थियो ।
तर, निगमको सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले योग्यताक्रमको पहिलो नम्बरमा रहेको आफूलाई छोडेर योग्यताक्रममा पछाडि परेका श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयसमेत पाँच जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
र्वोच्चको यो आदेशपछि अब सरकार नयाँ प्रक्रियाबाट कार्यकारी अध्यक्ष नियुक्ति गर्नुपर्ने भएको छ । अध्यक्षबाट पदमुक्त भए पनि श्रेष्ठ सञ्चालक समिति सदस्य यथावत रहने बताइएको छ ।






















