काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले पार्टी सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङको निर्देशनलाई चुनौती दिँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध पुनः कडा अभिव्यक्ति दिएका छन् ।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा उनले अघिल्लोपटकको आफ्नो अडान दोहो¥याउँदै आईजीपीको घरमा भएको चोरी प्रकरण र प्रहरी खरिदमा भएको अनियमितताबारे गम्भीर प्रश्न उठाए ।
उनले प्रहरी प्रधान कार्यालयमा केही बिचौलियाको कब्जा रहेकोसमेत आरोप लगाए ।
गत साउन २७ मै सुनारले आईजीपी कार्कीको घरबाट ३ करोड बढी चोरी भएको घटनालाई लिएर कटाक्ष गरेका थिए ।
त्यसको तीन दिनपछि पनि उनी अझ आक्रामक बनेर प्रस्तुत भए ।
खासगरी, बुधबार मात्रै सभापति रवि लामिछानेले संसदीय दलको बैठक राखी सांसदहरूलाई जिम्मेवार बन्न निर्देशन दिइसकेका थिए ।
त्यस्तै, गृहमन्त्री गुरुङले पनि आफ्नो गृह मन्त्रालय यस्तो व्यवहारप्रति सन्तुष्ट नरहेको बताउँदै कानुनी सुधारको आवश्यकता औंल्याएका थिए ।
तर यी सबै निर्देशन र असन्तुष्टिलाई बेवास्ता गर्दै खगेन्द्र सुनार पुनः त्यही विषयमा उत्रिएका छन् ।
आईजीपी कार्कीले भने सुनारका आरोप निराधार रहेको भन्दै पाषाणयुगीन मानसिकता भएको आरोप लगाउँदै प्रतिक्रिया दिइसकेका छन् ।
सुनारले आफू कठघरामा उभिन तयार रहेको बताउँदै आईजीपीलाई अदालत जान पनि चुनौती दिएका छन् ।
उनको यो अभिव्यक्तिलाई केवल संयोग मात्रै मान्न नसकिने राजनीतिक विश्लेषकहरू बताउँछन् ।






















