काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचन दलीय रूपमा लड्ने तयारी गरेको छ ।
पार्टीले पहिले गैरदलीय स्थानीय सरकारको नीति अघि सारे पनि व्यावहारिक नदेखिएपछि त्यो अडान परिवर्तन गरेको हो ।
रास्वपाले ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाका ३५ हजार २ सय २१ पदका लागि उम्मेदवार खोज्न ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ ।
आकांक्षीले वडा/पालिका अनुसार क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ ।
उम्मेदवार चयनका लागि लिडरसिप एकेडेमी (२५ प्रतिशत), पोलिटिकल प्रोक्सिमिटी (२५ प्रतिशत), समावेशिता (१० प्रतिशत) र प्राइमरी इलेक्सन (४० प्रतिशत) गरी चार मापदण्ड तोकिएको छ ।
पार्टीले आवेदकको पारिवारिक, कानुनी, आर्थिक र सामाजिक पृष्ठभूमिको कडा स्क्रिनिङ गर्ने जनाएको छ ।
राजनीतिशास्त्री प्रा. लोकराज बरालले बहुदलीय व्यवस्थामा गैरदलीय स्थानीय तहको अवधारणा अव्यावहारिक भएकाले रास्वपाले बल्ल यथार्थ बुझेको टिप्पणी गरेका छन् ।






















