काठमाडौं– गत वर्षको जेनजी आन्दोलनपछि राजनीतिक समीकरण फेरिएको ११ महिनापछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा एकैपटक सार्वजनिक रूपमा सक्रिय देखिएका छन् ।
दुवै नेताले पार्टी र राज्य सत्ता गुमाएपछि लामो समय ‘आइसोलेसन’मा रहेका थिए ।
देउवा २८ साउनमा सिंगापुरबाट फर्किएलगत्तै आफूविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा र पार्टी आधिकारिकताको विषयमा सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे ।
उनले राजा ज्ञानेन्द्रको उदाहरण दिँदै आफू विचलित नहुने चेतावनी दिए ।
यता ओली पनि २१ फागुनको निर्वाचनपछि पहिलो पटक झापा–इलाम पुगेर सरकार र आफ्नै पार्टीभित्रका आलोचकलाई कडा शब्दमा प्रतिक्रिया दिए ।
उनले जनताले गरेको गल्ती सच्याउनुपर्ने र आफूलाई कसैले हटाउन नसक्ने चुनौती दिए ।
राजनीतिक विश्लेषकहरू देउवाको फर्काइपछि ओली थप आक्रामक बनेको र दुवै नेताबीच आन्तरिक सम्वाद जारी रहेको बताउँछन् ।
वालेन्द्र शाह नेतृत्वको सरकारप्रति बढ्दो जनआक्रोश र सत्तारूढ दलभित्रको असहमतिले पुराना शक्तिहरू पुनः सक्रिय हुन पाएको विश्लेषण गरिएको छ ।
एमाले नेता कोमल भट्टराईका अनुसार ओली–देउवाबीच आत्मरक्षाका लागि साँठगाँठ भएको देखिन्छ भने देउवानिकट नेता श्याम घिमिरे भविष्यमा उनीहरूबीच औपचारिक सहकार्य सम्भव भए पनि तत्काल नहुने बताउँछन् ।
आगामी स्थानीय र प्रदेश चुनावलाई लक्षित गर्दै दुवै नेताले पार्टी संगठन र जनताबीच पुग्न रणनीति बनाएको देखिन्छ ।






















