काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भर्खरै ‘म हिन्दु हुँ’ भन्दै हिन्दु धर्मको पक्षमा अभिव्यक्ति दिएका छन् ।
कांग्रेस संस्थापन इतरको कार्यक्रममा उनले तीन पटक हिन्दु भएको दाबी गर्दै पशुपति जाने र पूजा गर्ने बताए ।
देउवाको यो अभिव्यक्तिलाई धेरैले खुमबहादुर खड्काको राजनीतिक लाइन पछ्याएको रूपमा हेरेका छन् ।
२०७२ मा देउवालाई सभापति बनाउन खड्काले महत्वपूर्ण भूमिका खेले पनि पछि उनलाई उपसभापति नबनाउने क्रममा देउवाले खड्काको हिन्दु राष्ट्र र राजतन्त्र समर्थक धारणालाई नै कारण देखाएका थिए ।
विगतमा खड्काले धर्मनिरपेक्षताको विरोध गर्दै अभियान चलाएका थिए भने देउवाले पनि २०८० सालमा केपी ओली र पुष्पकमल दाहालसँग हिन्दु राष्ट्रबारे छलफल गरेको बताइन्छ ।
कांग्रेसको महासमिति र केन्द्रीय समितिमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियानसमेत चलेको थियो ।
राजनीतिशास्त्री कृष्ण खनालका अनुसार देउवाको यो धारणा शक्ति पुनःप्राप्तिको सोच र भारतलाई खुशी पार्ने मनसायले आएको हुनसक्छ ।
त्यस्तै, कांग्रेसभित्रै हिन्दु राष्ट्रको पक्षपोषण गर्ने नेताहरूको दबाब पनि देउवामाथि परेको बुझिन्छ ।
तर, धर्मको राजनीतिले मात्र समर्थन पाउने भए राप्रपाले नै चुनाव जित्ने भन्दै खनालले यो प्रयास सफल नहुने टिप्पणी गरेका छन् ।
देउवाको यो अभिव्यक्तिलाई तात्कालिक लाभको खोजीका रूपमा समेत विश्लेषण भइरहेको छ ।






















