काठमाडौं– नेपाली कांग्रेसमा सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबीच समानान्तर गतिविधि तीव्र भइरहेका बेला सानेपामा बसेको केन्द्रीय समिति बैठकले पार्टी एकताको विषयलाई औपचारिक एजेन्डा बनाएन ।
२३ साउनदेखि १ भदौसम्म बसेको बैठकले पन्ध्रौँ महाधिवेशनको तयारी, विभिन्न समिति गठन, सुशासन, संसदीय मर्यादा, सुकुम्बासी समस्या र ग्यास अभावलगायत विषयमा १६ बुँदे निर्णय गरे पनि आन्तरिक विवाद समाधानबारे ठोस निर्णय गरेन ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको समस्या वैधानिक नभई व्यवहारिक भएकाले छुट्टै एजेन्डा आवश्यक नपरेको बताए ।
तर, देउवा पक्षले भने एकताको प्रश्नलाई सानेपा बैठकले बेवास्ता गरेको आरोप लगाएको छ ।
देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार उनीहरूको राष्ट्रिय सम्मेलनको मुख्य एजेन्डा नै पार्टी एकता र एकताबद्ध रूपमा महाधिवेशन गर्नु थियो ।
सभापति थापाले बैठकमा देउवासँग ‘भोलि नै’ भेट्ने घोषणा गरेका थिए ।
तर, त्यसको भोलिपल्टसम्म भेटको पहल नभएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।
विश्वकर्माले थापाको अभिव्यक्ति र व्यवहारबीच तालमेल नभएको टिप्पणी गरेका छन् ।
यसैबीच कांग्रेसले पन्ध्रौँ महाधिवेशन १६ देखि १९ असोजसम्म गर्ने निर्णय गर्दै तयारी अघि बढाएको छ ।
सदस्यता नवीकरण, महाधिवेशन व्यवस्थापन, विधान संशोधन तथा विभिन्न समिति गठनको प्रक्रिया अघि बढे पनि देउवा–शेखर कोइराला समूहसहित इतर पक्षले सदस्यता र महाधिवेशन प्रक्रियामा अपनत्व नपाएको गुनासो गर्दै आएको छ ।
केन्द्रीय समितिले महाधिवेशनलाई ‘एकता, सहमति, संवाद र व्यापक सहभागिताको महाउत्सव’ बनाउने निर्णय गरेको छ ।
तर, पार्टीको ठूलो समूहसँग सहमति कायम नगरी महाधिवेशनको तयारी अघि बढ्दा कांग्रेसको आन्तरिक संकट थप गहिरिने संकेत देखिएको छ ।






















