काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक विकासमा अधिकतम उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले आयोजना गरेको अन्तरक्रियामा बोल्दै ढकालले कोरियामा विभिन्न क्षेत्रमा काम गरेर ज्ञान, सीप र अनुभव हासिल गरेका नेपालीको क्षमताको सदुपयोग गर्न सके नेपालको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले नेपाल–कोरिया श्रम सम्बन्ध दुई देशबीचको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धसँगै आर्थिक र व्यावसायिक साझेदारीको महत्वपूर्ण आधार बनेको उल्लेख गर्नुभयो । हजारौँ नेपाली युवाले कोरियामा काम गरेर हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति भएको भन्दै उहाँले त्यसको संस्थागत उपयोगका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
ढकालले कोरियाले करिब ६० वर्षको अवधिमा गरिबीबाट औद्योगिक शक्तिका रूपमा गरेको रूपान्तरणबाट नेपालले पनि महत्वपूर्ण पाठ सिक्न सक्ने बताउनुभयो। अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको समन्वय नेपालका लागि पनि उपयोगी हुन सक्ने उहाँको भनाइ थियो। कोरियाबाट फर्किएका उद्यमीले त्यहाँ सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशका उद्योगमा लागू गर्न सके नेपालको औद्योगिक चरित्रमै परिवर्तन ल्याउन सकिने ढकालले बताउनुभयो ।
उहाँले नेपालमा जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना र मझौला उत्पादनमूलक क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताउनुभयो । भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणका कारण नेपाललाई क्षेत्रीय उत्पादनको आधारका रूपमा विकास गर्ने अवसर रहेको उहाँको भनाइ थियो । ढकालले लगानीमैत्री नीति निर्माण र एकद्वार सेवाका लागि निजी क्षेत्रले सरकारसँग निरन्तर संवाद गरिरहेको बताउँदै यस अभियानलाई थप तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो । देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
नयाँ व्यवसाय सुरु गर्न चाहने कोरियाबाट फर्किएका नेपालीका लागि उक्त कम्पनी लगानी साझेदार बन्न सक्ने बताउँदै ढकालले सानो पुँजी भएका लगानीकर्ताले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत समेत लगानी गर्न सक्ने जानकारी दिनुभयो ।
उहाँले कोरियाबाट फर्किएका नेपालीलाई रोजगारी खोज्नेभन्दा पनि स्वदेशमै उद्यम तथा उत्पादनमा जोडिन सक्ने वातावरण निर्माण गर्न सके त्यसले नेपालको अर्थतन्त्रलाई थप बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो ।


विश्व खबर 



















