काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएसँगै नेपाली कांग्रेसमा नेतृत्व विवाद चर्किएको छ ।
देउवा पक्षले चुनदेवीमा छुट्टै कार्यालय खोलेर उनलाई सभापतिको हैसियतमा प्रस्तुत गरेपछि कांग्रेसमा दुई सभापतिको दाबी देखिएको हो ।
देउवा पक्षका नेताहरूले १५औँ महाधिवेशनसम्म देउवा नै सभापति रहेको दाबी गरेका छन् ।
तर, कांग्रेसले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति निर्वाचित गरिसकेको र अदालत तथा निर्वाचन आयोगले समेत उनको आधिकारिकता स्वीकार गरेको थापा पक्षको भनाइ छ ।
थापा पक्षका महामन्त्री गुरु घिमिरेले देउवा पक्षले भेला गर्न पाए पनि पार्टीको आधिकारिकतामाथि असर पर्ने गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
राजनीतिक विश्लेषकहरूले भने अदालतमा पुनरावलोकनको मुद्दा विचाराधीन रहेका बेला समानान्तर गतिविधि बढ्नु सामान्य गुटगत विवादभन्दा गम्भीर भएको बताएका छन् ।
यसैबीच देउवाले चुनदेवीमा समर्थकलाई सम्बोधन गर्दै वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
उनले सरकारका गतिविधिको आलोचना गर्दै आफूविरुद्ध बदला लिन खोजिए पनि सत्यको अन्ततः जित हुने दाबी गरे ।
देउवाले विगतमा राजा ज्ञानेन्द्रले समेत आफूलाई केही गर्न नसकेको भन्दै वर्तमान सरकारले पनि केही गर्न नसक्ने बताएका छन् ।






















