काठमाडौं– नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीमा ७० वर्षे उमेरहद र कार्यकारी पदमा लगातार दुई कार्यकालको सीमा पुनः लागू गर्न सुझाव दिएको छ ।
महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन मसौदामा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावी पराजयको नैतिक जिम्मेवारी लिएर मार्गप्रशस्त गर्नुपर्ने सुझावसमेत दिइएको छ ।
यसका लागि २०६४ सालको संविधानसभा निर्वाचनपछि तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले राजीनामा दिएको उदाहरण प्रस्तुत गरिएको छ ।
११औँ महाधिवेशनबाट निर्वाचित सबै कमिटी विघटन गरी साना र छरितो कमिटी बनाउनुपर्ने, पार्टीभित्र तीन पुस्ताको संयोजनसहित नेतृत्व निर्माण र हस्तान्तरणको प्रणाली विकास गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
यस्तै, नयाँ पुस्ताको आकर्षण बढाउन आरक्षण मात्र पर्याप्त नभएको भन्दै नयाँ नीति र एजेन्डा आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
पार्टीमा विलासी तथा नवसामन्ती जीवनशैली, गुटबन्दी, आलोचना–आत्मालोचनाको कमी र सामाजिक सञ्जालमार्फत असहमति सार्वजनिक गर्ने प्रवृत्तिले जनविश्वास घटाएको पनि औँल्याइएको छ ।
प्रतिवेदनका कतिपय सुझावप्रति ओली असन्तुष्ट रहेको बताइएको छ ।
महासचिव पोखरेल र कार्यदल संयोजक रामबहादुर थापाले ओलीसँग भेटेर प्रतिवेदनबारे छलफल गरेका छन् ।






















