काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई दुईपटक अभिमुखीकरण तथा प्रशिक्षण दिए पनि केही सांसदको व्यवहारलाई लिएर आलोचना रोकिएको छैन ।
पार्टीले चैतको पहिलो साता र वैशाखको अन्तिम साता सांसदलाई संसदीय भूमिका, अनुशासन र आचरणबारे प्रशिक्षण दिएको थियो ।
सभापति रवि लामिछानेले अनुशासन उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।
तर सांसद खगेन्द्र सुनारले संसदीय समितिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई लक्षित गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि उनको व्यवहार विवादमा परेको छ ।
यसअघि पनि सुनारले सिन्धुलीमा प्रहरी अधिकारीलाई ‘घिसारेर लैजाने’ अभिव्यक्ति दिएका थिए ।
सुनारको अभिव्यक्तिप्रति नेपाली कांग्रेस र पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाउँदै संसदीय मर्यादा र पदीय गरिमा कायम गर्न आग्रह गरेका छन् ।
रास्वपाको विधानमा अनुशासनहीन वा जनअपेक्षाविपरीत काम गर्ने निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने प्रत्याह्वान अर्थात् राइट टु रिकलको व्यवस्था छ ।
गम्भीर विचलन देखिएमा आन्तरिक छानबिनपछि केन्द्रीय समितिको दुईतिहाइले कारबाही प्रक्रिया अघि बढाउन सक्ने प्रावधान छ ।
यसबीच सांसदको क्षमता र भूमिका प्रभावकारी बनाउने उद्देश्यले साउन २९ देखि ३१ गतेसम्म गर्ने भनिएको तेस्रो प्रशिक्षण तयारी नपुगेको भन्दै स्थगित गरिएको छ ।
मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार प्रशिक्षणको तयारी पूरा नभएकाले कार्यक्रम रोकिएको हो ।
रास्वपाका एक सांसदका अनुसार प्रशिक्षणका लागि १८१ सांसदमध्ये ७० जनाले मात्र हस्ताक्षर गरेका थिए ।
यसले पार्टीले अनुशासन र संसदीय आचरणमा जोड दिइरहे पनि आफ्नै सांसदहरूमा त्यसको प्रभाव कति परेको छ भन्ने प्रश्न उठाएको छ ।






















