images
images
  • सानेपा भर्सेज चुनदेवीले कांग्रेस फुट्ने पक्का, देउवा–गगन बेमेल कायम

    काठमाडौं– नेपाली कांग्रेसको नेतृत्व विवाद समानान्तर राजनीतिक अभ्यासमा देखिन थालेको छ ।

    शुक्रबार एकै दिन कांग्रेसका दुई समूहले राजधानीका फरक स्थानबाट शक्ति प्रदर्शन गर्दै आफूलाई पार्टीको वैधानिक र वास्तविक प्रतिनिधि दाबी गरेका छन् ।

    सानेपामा सभापति गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यसमिति बैठक बस्यो ।

    बैठकले विधि, विधानअनुसार पार्टी सञ्चालन, संगठन सुदृढीकरण र नियमित महाधिवेशनलाई प्राथमिकता दिने निर्णयसहित पार्टीलाई नयाँ युगअनुकूल अघि बढाउने सन्देश दियो ।

    यता चुनदेवीमा कार्यालय राखेको देउवा–शेखर कोइराला पक्षले सुकेधाराको मिराकल पार्टी भेन्युमा कांग्रेस बचाउ अभियान अन्तर्गत राष्ट्रिय भेला गर्दै थापा नेतृत्वको वैधानिकतामाथि प्रश्न उठायो ।

    भेलामा विशेष महाधिवेशनबाट बनेको नेतृत्वले पार्टीको संस्थागत निरन्तरता तोडेको आरोप लगाइयो ।

    नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने दाबी गर्दै थापा नेतृत्वलाई महाधिवेशन गर्ने अधिकार कसले दिएको भन्दै प्रश्न गरे ।

    कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगबाट थापा नेतृत्वलाई दिइएको आधिकारिकतामाथि समेत प्रश्न उठाए ।

    शेखर कोइरालाले सर्वोच्च अदालतको निर्णय स्वीकार गरे पनि पार्टीमा निरंकुशता स्वीकार्य नहुने बताए ।

    पूर्णबहादुर खड्काले देउवाको नेतृत्वमा पार्टी एकता सम्भव हुने दाबी गरे ।

    प्रकाशशरण महतले सानेपामा कांग्रेसको शरीर भए पनि राजनीतिक आत्मा सुकेधारा भेलामा रहेको दाबी गरे ।

    यससँगै कांग्रेसभित्रको विवाद सभापति को भन्ने प्रश्नमा मात्र सीमित नरही पार्टीको आधिकारिकता, महाधिवेशन गर्ने अधिकार र नेतृत्वको वैधानिकतासम्म पुगेको छ ।

    जेनजी आन्दोलनपछि चर्किएको नेतृत्व हस्तान्तरणको विवाद, विशेष महाधिवेशन, निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतमा पुगेको मुद्दाले कांग्रेसलाई दुई धारमा विभाजित गरेको हो ।

    देउवा उपचारपछि स्वदेश फर्किएसँगै उनको पक्ष थप सक्रिय बनेको छ ।

    शुक्रबार सानेपामा थापा पक्षको संस्थागत अभ्यास र सुकेधारामा देउवा–कोइराला पक्षको शक्ति प्रदर्शनले कांग्रेसभित्रको विभाजन थप स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images