काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठक गणपूरक संख्या नपुगेपछि एक साताका लागि स्थगित भएको छ ।
खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथिको छलफल अघि बढाउन आवश्यक ६९ सांसद हुनुपर्नेमा ६१ जना मात्रै उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।
बैठकका क्रममा उपसभामुखले बोल्न समय दिएका केही सांसदहरू सभाकक्षमै अनुपस्थित देखिए ।
रिना उप्रेती र अरविन्द साहको नाम तीन–तीन पटक बोलाउँदा पनि उपस्थित नभएपछि अर्को सांसदलाई समय दिइएको थियो ।
यस्तो दृश्य संसद्मा पटक–पटक दोहोरिँदै आएको छ ।
सांसदहरू बैठकमा हाजिर गरेर बाहिरिने प्रवृत्तिलाई संसद्मा ‘हाटा’ भनेर व्यंग्य गर्ने गरिएको छ ।
बोल्न नाम टिपाएर समय आउँदा अनुपस्थित हुने प्रवृत्ति पनि बढ्दो देखिएको छ ।
यही अवस्थाले संसद्को गरिमा र प्रभावकारितामाथि प्रश्न उठेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूको हाजिरी विवरण विश्लेषण गर्ने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालयले सांसदहरूको उपस्थिति र बीचमै बाहिरिने प्रवृत्तिबारे अध्ययन गरी प्रतिवेदन तयार पार्ने जनाएको छ ।
संसद्मा मात्र होइन, विषयगत समितिहरूमा समेत बैठक सुरुमा धेरै सांसद उपस्थित भए पनि अन्त्यसम्म संख्या उल्लेखनीय रूपमा घट्ने गरेको तथ्यांकले देखाएको छ ।
सांसदहरूले संसद्लाई कर्मकाण्डी अभ्यास बन्न नदिन संसदीय सुधार आवश्यक रहेको आवाज समेत उठाउन थालेका छन् ।






















