images
images
  • दुर्गा–धवल सहकार्यको जगमै दरार : दर्ता नहुँदै ‘जय नेपाल पार्टी’मा भाँडभैलो

    काठमाडौं– राप्रपाबाट अलग भएका डा.धवलशम्शेर राणा र अभियन्ता दुर्गा प्रसाईँ मिलेर गठन गर्न लागेको नयाँ राजनीतिक दल औपचारिक दर्ताअघि नै आन्तरिक विवादमा परेको देखिएको छ ।

    लामो तयारीपछि पार्टीको नाम सार्वजनिक गरिए पनि दुई पक्षबीच मतभेद बढेपछि एकता प्रक्रिया टिक्नेमा नै संशय उत्पन्न भएको स्रोतहरूको भनाइ छ ।

    राप्रपाका पूर्वमहामन्त्री डा। राणा अध्यक्ष रहने गरी ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा गरिएको थियो ।

    समझदारीअनुसार प्रसाईँ पार्टीका सर्वोच्च नेताको भूमिकामा रहने तय भएको थियो भने साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी गरिएको थियो ।

    तर उक्त मितिमा पार्टी दर्ता नहुने भएको छ ।

    दुर्गा प्रसाईँले मंगलबार फेसबुकमार्फत आवश्यक तयारी पूरा नभएकाले दर्ता प्रक्रिया केही समयका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

    उनले लेखेका छन्, ‘नयाँ पार्टी गठन तथा दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी अझै पूरा भएको छैन । पार्टी गठन, संगठनात्मक संरचना तथा अन्य विषयमा आन्तरिक छलफल जारी रहेकाले साउन २८ गतेको मिति केही समयका लागि सारिएको छ । तयारी पूरा भएपछि नयाँ मिति सार्वजनिक गरिनेछ ।’

    यता डा। राणाले भने यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

    प्रसाईँले तयारी अपुग भएको कारण देखाए पनि वास्तविक कारण दुई पक्षबीच बढ्दो किचलो रहेको दाबी स्रोतहरूको छ ।

    धवलशम्शेर समूहका एक नेताका अनुसार यसअघि सहमति भएका विषयमा पनि प्रसाईँ पक्षले नयाँ माग अघि सारेको छ ।

    ‘उहाँले पार्टीमा पहिलो वरियता पाउनुपर्ने कुरा गर्नुभएको छ । जबकि पहिले नै उहाँ सर्वोच्च नेताको हैसियतमा अध्यक्षपछि रहने सहमति भइसकेको थियो । प्रसाईँ स्वयम्‌ले धवलशम्शेरलाई अभिभावक सरह मानेर वरियता नखोज्ने बताउनुभएको थियो,’ ती नेताले भने ।

    स्रोतका अनुसार चुनावपछि प्रसाईँलाई संसदीय दलको नेता बनाउने समझदारी भएको थियो ।

    तर अहिले उम्मेदवार छनोट र टिकट वितरणमा प्रसाईँको हस्ताक्षर अनिवार्य हुनुपर्ने नयाँ शर्त आएको बताइएको छ ।

    ‘यदि यसरी नयाँ शर्तहरू थपिँदै गए भने एकता प्रक्रिया नै बिथोलिन सक्छ,’ ती नेताले चेतावनी दिए ।

    प्रसाईँ पक्षले भने विवादको दाबी अस्वीकार गरेको छ ।

    प्रसाईँ निकट नेता माधव निर्दोषले एकता प्रक्रियामा कुनै दरार नआएको बताए ।

    उनले भने, ‘विवादको हल्ला मात्रै हो । एकता प्रक्रिया निरन्तर अघि बढिरहेको छ । आज पनि कार्यदलको बैठक बसिरहेको छ ।’

    साउन २८ गतेको दर्ता कार्यक्रम किन स्थगित भयो भन्ने प्रश्नमा उनले ज्योतिषीहरूको सुझावअनुसार उक्त मिति उपयुक्त नरहेको भन्दै केही समय पछि सारिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images