images
images
  • रवि लामिछानेलाई जोगाउन राहदानी ऐन नै संशोधन

    काठमाडौं– सरकारले संसदमा दर्ता गरेको राहदानी ऐन संशोधन विधेयक पारित भए झूटो विवरण दिई राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र हुने व्यवस्था लागू हुनेछ ।

    कानुनविद्हरूका अनुसार यो प्रावधान रास्वपाका सभापति रवि लामिछानेको विचाराधीन राहदानी विवादमा पनि लागू हुन सक्छ ।

    हालको ऐनमा यस्तो कसुरमा दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, एकदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

    प्रस्तावित विधेयकमा भने एकदेखि दुई लाख रुपैयाँसम्म जरिवाना मात्र गर्ने र त्यो पनि राहदानी विभागका महानिर्देशकले नै गर्न सक्ने व्यवस्था गरिएको छ ।

    नयाँ विधेयकमा झूटो विवरण दिई राहदानी बनाउने कसुरमा सरकारले अनुसन्धान र अभियोजन नगर्ने प्रावधान पनि राखिएको छ ।

    यसले हाल फौजदारी अपराध मानिने कार्यलाई प्रशासनिक जरिवानामा सीमित गर्ने देखिन्छ ।

    रवि लामिछानेमाथि अमेरिकी राहदानी कायम रहेकै अवस्थामा नेपाली राहदानी लिएको भन्दै मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

    यदि सर्वोच्चले मुद्दा चलाउन आदेश दिएर उनी दोषी ठहर भए पनि नयाँ खुकुलो कानुन लागू भए जेल बस्न नपरी जरिवाना मात्र तिर्नुपर्ने अवस्था आउन सक्ने कानुनविद्हरू बताउँछन् ।

    परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने विधेयक व्यक्ति विशेषलाई फाइदा पुर्‍याउन नभई राहदानी प्रक्रियामा देखिएका प्रशासनिक झन्झट हटाउन ल्याइएको दाबी गरेका छन् ।

    उनीहरूका अनुसार नागरिकता र राष्ट्रिय परिचयपत्र नै मूल आधार भएकाले राहदानीसम्बन्धी झूटो विवरणलाई प्रशासनिक रूपमा समाधान गर्ने सोच राखिएको हो ।

    विधेयकमा राहदानी रद्दको जानकारी विदेशी नियोगलाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था पनि हटाउने प्रस्ताव गरिएको छ ।

    अब त्यस्तो जानकारी इन्टरपोललाई मात्र दिए पुग्ने व्यवस्था राखिएको छ ।

    यो विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र ऐनका रूपमा लागू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images