काठमाडौं– नेपाली कांग्रेसका इतर समूहका संयोजक डा.शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।
सर्वोच्च अदालतले पार्टीको वैधानिकता र नेतृत्व विवादसम्बन्धी फैसला पुनरावलोकन गर्ने अनुमति दिएपछि उनले यस्तो कदम चालेका हुन् ।
पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म महाधिवेशनका साङ्गठनिक, प्राविधिक र नीतिगत गतिविधि स्थगित गर्न तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनीतिक, साङ्गठनिक वा आर्थिक निर्णय नगर्न माग गरिएको छ ।
इतर समूहका नेता मिन विश्वकर्माले पत्र निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिएको जानकारी दिएका छन् ।
कोइरालाले अदालतमा विचाराधीन मुद्दाको परिणामलाई असर पर्ने गरी कुनै गतिविधि अघि नबढाउन चेतावनी दिँदै अन्यथा कानुनी जटिलता उत्पन्न हुन सक्ने उल्लेख गरेका छन् ।






















