काठमाडौं– काठमाडौं महानगरपालिका–९ स्थित गुह्येश्वरी फाँटमा रहेको गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक करिब ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ ।
केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा थप ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ। हाल सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौं उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र आवश्यक छन्। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने उहाँले बताउनुभयो। त्यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको पनि उहाँको भनाइ छ ।
केन्द्रमा आउने ढलमा बालुवा, इँटा, मरेका जनावरलगायतका ठोस फोहर मिसिँदा प्रशोधन प्रक्रियामा कठिनाइ हुने गरेको श्रेष्ठले बताउनुभयो। ढलको फोहर र वर्षाको पानी एउटै प्रणालीमार्फत केन्द्रमा आउने भएकाले समस्या थपिएको उहाँको भनाइ छ ।
विशेषज्ञहरूले उपत्यकामा बढ्दो जनसङ्ख्या र शहरीकरणसँगै ढल व्यवस्थापनलाई व्यवस्थित नगरे नदी प्रदूषण र वातावरणीय जोखिम अझ बढ्ने चेतावनी दिएका छन् ।























