काठमाडौं । जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले बरामद गरेको भारतबाट चोरी गरि ल्याइएको १ किलो सुन र १७ लाख नगद डोटीका एसपी दानबहादुर मल्लले हिनामिना गरेको आरोप लागेको छ ।
उक्त सुन मल्ल नेतृत्वको टोलीले हिनामिना गरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । उनीहरुले मल्लको नेतृत्वमा रहेको टोलीले उक्त सुन र नगद हिनामिना गरेको आरोप लगाएका छन् ।
यस विषयमा एसपी मल्लसँग बुझ्दा उनले उक्त नगद र सुन वास्तविक पीडितलाई बुझाइएको जानकारी दिए । यसभन्दा अघि स्थानीय, केही प्रहरी र पत्रकार मिलेर नियन्त्रणमा लिइएको पैसा बाँडीचुँडी खाने गरेको भेटिएको आरोप लगाउँदै उनले आफूमाथिको आरोप निराधार भएको बताए ।
भारतको सीआईबीको टोलीसँग सहकार्य गरी भारतीय प्रहरी, प्रहरी प्रधान कार्यालय, नेपालस्थित भारतीय राजदूतावास सबैबीचको सहकार्यपछि वास्तविक पीडितकहाँ उक्त सुन र रकम पुगाइएको उनले बताए । ‘प्रहरी प्रधान कार्यालयलाई बुझाएकोमा त्यहीँबाट पीडितसम्म पुगेको हो,’ उनले भने, ‘यस विषयमा थप अनुसन्धान गर्दैछौँ ।’
उनले यसअघि नेतृत्वमा देखिएका त्यस्ता क्रियाकलापको पनि अनुसन्धान गरिरहेको बताउँदै संलग्न व्यक्तिलाई कारवाही गरिने जानकारी दिए ।


विश्व खबर 



















