images
images
  • राजनीतिक नेतृत्वमा सुधार र अनुशासनबिना सुशासन सम्भव छैन : हरि ढकाल

    काठमाडौं–  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार, अनुशासन र जवाफदेहिता आवश्यक रहेको बताएका छन् ।

    गुड गभर्नेन्स प्रोटेक्सन फोरमले ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’ उद्घाटन गर्दै उनले शासनसत्ताको स्रोत नागरिक भएकाले राज्य सञ्चालनमा नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए । “पहुँचका आधारमा जे पनि हुने अवस्था रहँदासम्म सुशासन कायम हुन सक्दैन,” उनले भने ।

    ढकालले विधिको शासन र अनुशासनका आधारमा काम गर्न जनप्रतिनिधिले कानुन निर्माणमा विशेष ध्यान दिनुपर्ने र सत्तामा रहेका निकायलाई जिम्मेवार बनाउन नागरिक तहबाट पनि खबरदारी आवश्यक रहेको बताए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले १६औँ आवधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले डिजिटल सुशासन र डिजिटल अर्थतन्त्रलाई जोडेर दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताए ।

    गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले संशोधनको चरणमा रहेका २१० वटा ऐन निर्माणमा सरोकारवाला र जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। जनताको अपनत्वबिना सुशासन कायम हुन नसक्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images