काठमाडौं– नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीसहितको वर्तमान नेतृत्व संरचनामाथि गम्भीर प्रश्न उठाउँदै विशेष महाधिवेशनमार्फत पुनर्गठन गर्नुपर्ने निष्कर्ष निकालेको खबर सार्वजनिक भएको छ ।
५६ पृष्ठ लामो प्रतिवेदनमा नेतृत्व केन्द्रीकरण, संगठन कमजोर हुनु र चुनावी पराजयका कारण पार्टी संकटमा पुगेको उल्लेख गरिएको छ ।
कार्यदलका सदस्यसचिव महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी अध्यक्ष ओली र कार्यदल संयोजक रामबहादुर थापालाई हार्डकपी बुझाएको बताइएको छ ।
यसबारे बादल भने मौन बसेका छन् ।
प्रतिवेदनमा ओलीको कार्यशैली र संगठन सञ्चालनप्रति आलोचना गरिएको तथा वर्तमान शैलीबाट पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष राखिएको स्रोतको दाबी छ ।
यद्यपि कार्यदलका केही सदस्यहरूले प्रतिवेदनमाथि कार्यदलभित्र औपचारिक छलफल नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले कार्यदलले प्रतिवेदन लेखन पूरा गरेको पुष्टि गर्दै अब कार्यदलभित्र छलफल गरेर अगाडि बढाइने बताएका छन् ।
अध्यक्ष ओलीको सचिवालयले भने प्रतिवेदन औपचारिक रूपमा बुझाइएको जानकारी नभएको जनाएको छ ।






















