काठमाडौं-राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण अवधि फेरि तीन वर्ष थपिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि २०८३ चैतसम्म रहेको म्याद बढाएर २०८६/८७ चैतसम्म पुर्याउने निर्णय गरेको छ।
यसअघि सरकारले २०८० वैशाखमा पनि आयोजनाको निर्माण अवधि २०८३ चैतसम्म विस्तार गरेको थियो। त्यसबेला तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने निष्कर्षसहित करिब २८ महिनाको म्याद थपिएको थियो। पछिल्लो निर्णयसँगै आयोजना पुनः निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था स्पष्ट भएको छ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको ७२.५ किलोमिटर लामो द्रुतमार्गको प्रगति लक्ष्यअनुसार हुन नसकेपछि म्याद थप्नुपरेको हो। सुरुङमार्ग र लामो पुल निर्माण, ललितपुरको खोकना क्षेत्रमा जग्गा अधिग्रहण विवाद, केही निर्माण प्याकेजमा भएको ढिलाइ तथा प्राविधिक जटिलताका कारण आयोजना प्रभावित हुँदै आएको छ।
काठमाडौंलाई निजगढ हुँदै तराईसँग छोटो दूरीमा जोड्ने यो आयोजना २०७४ सालदेखि नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। सुरुमा केही वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माण अवधि थपिँदै आएको छ। समय लम्बिँदै जाँदा आयोजनाको लागतसमेत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
सरकारले चालु आर्थिक वर्षमा पनि द्रुतमार्गलाई उच्च प्राथमिकतामा राख्दै १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको पछिल्लो भौतिक प्रगति ४८.७२ प्रतिशत र वित्तीय प्रगति ५०.६३ प्रतिशत पुगेको छ।
ललितपुरको खोकनादेखि सुरु हुने द्रुतमार्ग काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिनेछ। कुल ७०.९७७ किलोमिटर लम्बाइको सडक पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर चौडा हुनेछ। आयोजनाअन्तर्गत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण गरिनेछ।
सरकारको अपेक्षाअनुसार आयोजना सम्पन्न भएपछि काठमाडौंबाट मध्य तराई करिब एक घण्टामा पुग्न सकिनेछ। यसले यात्राको समय, ढुवानी लागत र व्यापारिक पहुँचमा ठूलो परिवर्तन ल्याउने विश्वास गरिएको छ।
मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ गते द्रुतमार्गको निर्माण व्यवस्थापन नेपाली सेनालाई दिने निर्णय गरेको थियो। तर आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भने २०७६ भदौ १ गतेमात्र स्वीकृत भएको थियो, जसका कारण प्रारम्भिक चरणमै कार्यतालिका प्रभावित भएको थियो।






















