काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङमाथि भएको प्रश्नोत्तरका क्रममा कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण फेरि उठेको छ।
मन्त्रालयगत प्रश्नोत्तर अन्तर्गत नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले गृहमन्त्री गुरुङसँग “निर्मला पन्त घटनाको दोषी पत्ता लगाएर न्याय दिन नसक्नुको कारण के हो र कहिलेसम्म सरकारले न्याय दिलाउँछ?” भन्ने प्रश्न गरेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले उक्त विषय अत्यन्त संवेदनशील रहेको बताए। उनले अघिल्ला सरकारहरूको कार्यकालतर्फ संकेत गर्दै भने, “यो विषय संवेदनशील छ। हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन? अहिले हामीलाई त्यो भारी बोकाउँदै गर्दा यो संवेदनशील विषय हो।”
गुरुङले निर्मलाकी आमाको पीडालाई बारम्बार संसदमा उठाउँदा थप मानसिक पीडा पुग्न सक्ने तर्क गर्दै अनुसन्धानलाई सूक्ष्म ढंगले अघि बढाइएको दाबी गरे। “यो अनुसन्धानको विषय हो र सूक्ष्म अनुसन्धान भइरहेको छ,” उनले भने, “अबदेखि यो प्रश्न प्रतिनिधिसभा र राष्ट्रिय सभामा नउठाउन आग्रह गर्छु। व्यक्तिगत रूपमा भेटेर सोध्नुहोला, मसँग उत्तर छ।”
मन्त्रीको जवाफपछि सांसद विश्वकर्माले पूरक प्रश्न गर्दै आफ्नो विधायकी अधिकारको हनन भएको टिप्पणी गरे। उनले सरकार गठन भएको सवा चार महिना बितिसक्दा पनि छानबिन निष्कर्षमा नपुग्नु दुःखद भएको भन्दै फेरि प्रश्न दोहोर्याए, “अब कति महिना, कति दिनमा निर्मलाले न्याय पाउँछिन्?”
यसपटक गृहमन्त्री गुरुङले छोटो जवाफ दिँदै भने, “म यसको उत्तर दिन चाहन्नँ।”
निर्मला पन्तको २०७५ सालमा भएको हत्या प्रकरण अझै निष्कर्षमा नपुगेको विषयलाई लिएर संसदमा पटक–पटक प्रश्न उठ्दै आएको छ।






















