काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने आठ सांसदसँग मंगलबार प्रधानमन्त्री कार्यालयमा करिब साढे दुई घण्टा छलफल गरेका छन् ।
छलफलमा सांसदहरूले संसद्मा प्रधानमन्त्रीको न्यून उपस्थितिबारे प्रश्न उठाउँदै नियमित रूपमा हाउसमा आउन आग्रह गरेका थिए ।
सहभागी सांसदहरूका अनुसार प्रधानमन्त्री शाहले विपक्षीले प्रश्न उठाइरहन्छन्, त्यसमा अल्झिए काम प्रभावित हुन्छ, भन्दै आवश्यकताअनुसार मात्र संसद्मा जाने संकेत दिएका थिए ।
उनले हामीले काम गर्ने हो, हरेक प्रश्नमा अल्झिनु होइन, भन्ने धारणा राखेको सांसदहरूले बताएका छन्।
छलफलमा लिपुलेक हुँदै भारत–चीन व्यापार सुरु भएको विषय, सुस्तामा भारतीय पक्षले तटबन्ध भत्काएको घटना, मल अभाव, गेटा अस्पताल, छाडा चौपाया लगायतका सुदूरपश्चिमका समस्याबारे पनि प्रश्न उठाइएको थियो ।
सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले मलाई जानकारी छ भन्ने छोटो प्रतिक्रिया दिएको सांसदहरूको भनाइ छ ।
रास्वपाका सांसद तारा जोशीले आगामी वर्ष किसानलाई मल अभाव हुन नदिन सरकारको ठोस रणनीति के छ भनेर प्रश्न गर्दा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पढ्नुभएन ?
भन्दै प्रतिक्रिया दिएको सहभागी सांसदहरूले बताएका छन् ।
जोशीले आफूले नीति तथा कार्यक्रम पढेको र संसद्मा समर्थनसमेत गरेको तर त्यसलाई अझ अद्यावधिक गर्नुपर्ने बताएका थिए ।
सांसदहरूले प्रधानमन्त्रीको जवाफ र बैठकको वातावरणप्रति पूर्ण सन्तुष्टि व्यक्त नगरेको स्रोतहरूले बताएका छन् ।






















