काठमाडौं– नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष तीव्र बन्दै जाँदा पार्टीको ऐतिहासिक विरासत बोकेको कोइराला परिवार तीन धारमा विभाजित भएको देखिएको छ ।
बिपी कोइरालाका पुत्र डा.शशांक कोइराला संस्थापन इतर पक्षको नेतृत्वमा उभिएका छन् भने गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला गगन थापा नेतृत्वको संस्थापन पक्षसँग देखिएकी छन् ।
उता नोना कोइरालाका पुत्र डा.शेखर कोइराला भने पार्टी एकता कायम हुनुपर्ने भन्दै मध्यस्थ भूमिकामा छन् ।
१४औँ महाधिवेशनपछि तीनैजनाले एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाए पनि पछिल्ला घटनाक्रमले उनीहरू फरक–फरक धारमा पुगेका छन् ।
शशांकलाई संस्थापन इतर पक्षले आगामी २९ साउनको राष्ट्रिय कार्यकर्ता भेलाको ५५१ सदस्यीय आयोजक समितिको संयोजक बनाएको छ ।
इतर पक्षको दाबी छ कि बिपीको नामसँग जोडिएको भावनात्मक प्रभावले कार्यकर्तालाई एकताबद्ध गर्न मद्दत गर्नेछ ।
सुजाता कोइराला भने विशेष महाधिवेशनपछि केन्द्रीय सदस्यमा मनोनीत भइसकेकी छन् र नयाँ नेतृत्वले कांग्रेसलाई उचाइमा पुर्याउने विश्वास संस्थापन पक्षको छ ।
उनी सार्वजनिक रूपमा धेरै नबोले पनि संस्थापनसँगै रहेको स्पष्ट संकेत देखिएको छ ।
शेखर कोइराला भने दुवै पक्षलाई मिलाएर लैजानुपर्ने धारमा छन् ।
उनका निकटस्थहरूका अनुसार कांग्रेस विभाजित हुँदा राष्ट्र, लोकतन्त्र र राष्ट्रियता कमजोर हुने भएकाले पार्टी फुट्न नदिनुपर्ने उनको धारणा छ ।
मुख्य विवाद विशेष महाधिवेशनबाट आएको नेतृत्व, १५औँ महाधिवेशनको प्रक्रिया र क्रियाशील सदस्यताको विषयलाई लिएर चर्किएको हो ।
संस्थापन पक्ष असोजमा महाधिवेशन गर्ने तयारीमा छ भने इतर पक्षले २९ साउनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
सहमति नभए नयाँ पार्टी गठनसम्मको तयारी भइरहेको संकेत इतर पक्षले दिएको छ ।
राजनीतिक विवादसँगै कानुनी लडाइँ पनि सुरु भएको छ। गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिएका छन् ।
कांग्रेसभित्रको यो संकटले पार्टीको एकता, नेतृत्व र भविष्यबारे गम्भीर प्रश्न खडा गरेको छ ।






















