काठमाडौं– विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेराम्याक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।
न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बस्नेतविरुद्धको भ्रष्टाचार अभियोग पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको हो ।
यद्यपि, सोही मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा तथा सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरिएको छ ।
अदालतले उनीहरूलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको छ ।
अदालतले उनीहरूको हकमा बिगो कायम गर्न नमिल्ने निष्कर्ष निकाल्दै जरिबाना र कैद सजाय मात्रै निर्धारण गरेको हो ।
साथै, दीगम्बर झाले सार्वजनिक पदमा बसेर कसुर गरेको भन्दै थप ६ महिनाको कैद सजाय हुने राय समेत व्यक्त गरेको छ ।
सुमार्गीमाथिको अनुसन्धान रोक्न सर्वोच्चको अन्तरिम आदेश
यसैबीच, सर्वोच्च अदालतले व्यवसायी अजयराज (अजय) सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाइरहेको अनुसन्धान तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि जारी गरेको आदेशमा सुमार्गीविरुद्ध कुनै कामकारबाही नगर्नू नगराउनूू भनिएको छ ।
विभागले दुई साताअघि सुमार्गीको राहदानी रोक्का गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।
आफूविरुद्ध वर्षौंदेखि एउटै विषयमा पटक–पटक अनुसन्धान भइरहेको दाबी गर्दै उनले नयाँ अनुसन्धान रोक्न माग गरेका थिए ।
पुराना फैसलालाई आधार
अन्तरिम आदेश जारी गर्दा सर्वोच्चले सुमार्गी आबद्ध दुई कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालि र मुक्तिश्री सिमेन्टसँग सम्बन्धित यसअघिका दुईवटा फैसलालाई आधार बनाएको छ ।
नेपाल स्याटेलाइट टेलिकमले विदेशबाट ल्याउन खोजेको रकम नेपाल राष्ट्र बैंकले रोक्का गरेपछि २०७४ सालमा सर्वोच्च पुगेको थियो ।
मंसिर २०८१ मा सर्वोच्चले उक्त रिट खारेज गर्दै रकम नेपाली बैंक खातामा स्थानान्तरण भइसकेको उल्लेख गरेको थियो ।
त्यतिबेला कम्पनीले अनुसन्धान रोक्न माग गरे पनि अदालतले स्वीकार गरेको थिएन ।
त्यसअघि मुक्तिश्री सिमेन्टको वैदेशिक लगानी रोकिएको विषयमा परेको रिटमा सर्वोच्चले २०७६ सालमा सम्बन्धित निकायलाई छ महिनाभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले रकमको स्रोत कानुनी भए फुकुवा गर्न र गैरकानुनी देखिए कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको थियो ।
अनुसन्धान नै रोकियो
यी दुवै फैसलामा अनुसन्धान रोक्न नभई अनुसन्धान निष्कर्षमा पुर्याउन आदेश भए पनि हालको अन्तरिम आदेशपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीमाथिको अनुसन्धान अघि बढाउन नपाउने भएको छ ।
विभागले भने उक्त अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्चमै निवेदन दिन सक्ने कानुनी व्यवस्था छ ।
आरोप के थियो ?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार सुमार्गीले २०६० को दशकको अन्त्यदेखि कर सहुलियत र गोपनीय कम्पनी (शेल कम्पनी) स्थापना गर्न सहज मानिने मुलुकहरूबाट नेपालमा ठूलो परिमाणमा वैदेशिक लगानी भित्र्याउने योजना बनाएका थिए ।
सन् २०१० मा सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकमले साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडबाट ८५ मिलियन अमेरिकी डलर (त्यतिबेलाको विनिमय दरअनुसार करिब ६ अर्ब ३७ करोड रुपैयाँ) ऋणका रूपमा ल्याउने प्रक्रिया अघि बढाएको थियो ।
त्यसैगरी मुक्तिश्री सिमेन्टका लागि ब्रिटिस भर्जिन आइल्याण्डस्थित जोधार इन्भेष्टमेन्ट लिमिटेडबाट ४५ मिलियन अमेरिकी डलर लगानी ल्याउने योजना बनाइएको थियो, जसमध्ये करिब ३५ मिलियन डलर नेपाल भित्रिएको बताइएको छ ।
पठाउने र पाउने दुवै आफैं
अनुसन्धानका क्रममा विभागले रकम पठाउने र नेपालमा लगानीका रूपमा प्राप्त गर्ने पक्षबीच सम्बन्ध रहेको दाबी गरेको थियो ।
विभिन्न कागजातमा रकम पठाउने व्यक्तिको नाम अजयराज सुमार्गी पराजुली नै उल्लेख भएको र प्राप्तकर्ता उनका आफ्नै कम्पनीहरू रहेको विभागको निष्कर्ष थियो ।
विभागले यसलाई सम्पत्ति शुद्धीकरणको सम्भावित संकेत मान्दै विदेशी ऋण वा लगानीको आवरणमा आफ्नै रकम नेपाल भित्र्याउने प्रयास भएको आशंका व्यक्त गरेको थियो ।
करिब १२ अर्ब रुपैयाँ भित्रिएको दाबी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अध्ययनअनुसार सुमार्गीले २०७० सालपछि विभिन्न चरणमा करिब १२ अर्ब रुपैयाँ नेपाल भित्र्याइसकेका थिए भने झन्डै त्यति नै रकम थप भित्र्याउने तयारीमा थिए ।
अनुसन्धान प्रतिवेदनमा उक्त रकम ब्रिटिस भर्जिन आइल्याण्ड, साइप्रस लगायत कर सहुलियतयुक्त मुलुकहरूबाट आएको उल्लेख छ ।
अध्ययनअनुसार रकम सुमार्गी मात्र होइन, उनका परिवारका सदस्य तथा आफन्तसँग सम्बन्धित खाताहरूमा समेत आएको देखिएको थियो ।
नेपाल राष्ट्र बैंकले पटक–पटक ती कारोबारमाथि निगरानी र रोक लगाउने प्रयास गरे पनि विभिन्न अदालतका अन्तरिम आदेशका कारण रकम फुकुवा हुँदै आएको अनुसन्धान अधिकारीहरूको दाबी छ ।
विभागका अनुसार तत्कालीन विनिमय दरअनुसार करिब २२ अर्ब रुपैयाँ बराबरको रकम नेपाल ल्याउने योजना बनाइएको थियो, जसको हालको विनिमय दरअनुसार मूल्य करिब ४४ अर्ब रुपैयाँ बराबर हुन्छ ।
त्यसैले यस प्रकरणलाई नेपालमा वैदेशिक लगानीको आवरणमा सम्भावित सम्पत्ति शुद्धीकरणसँग जोडिएको सबैभन्दा चर्चित अनुसन्धानमध्ये एक मानिएको छ ।






















