काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष झन् तीव्र बन्दै गएको छ ।
विशेष महाधिवेशनपछि गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवा–पूर्णबहादुर खड्का नेतृत्वको इतर पक्षबीच समानान्तर गतिविधि बढेसँगै आगामी १५औं महाधिवेशन पार्टी एकताभन्दा विभाजनको मोड बन्न सक्ने आकलन हुन थालेको छ ।
इतर पक्षले काठमाडौंको चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गर्दै देशव्यापी भेला र संगठन विस्तारलाई तीव्र बनाएको छ ।
पूर्णबहादुर खड्काले वर्तमान नेतृत्वले पार्टीलाई समेट्न नसकेको आरोप लगाउँदै महाधिवेशनमा वैधानिकताको पक्षमा लड्ने बताएका छन् ।
यता सभापति गगनकुमार थापाले सबै पक्षसँग संवादका लागि ढोका खुला रहेको दोहोर्याउँदै गुटगत गतिविधिले कार्यकर्तामा निराशा बढाएको बताएका छन् ।
संस्थापन पक्षले भने डिजिटल माध्यमबाट क्रियाशील सदस्यता अद्यावधिक र संगठन सुदृढीकरणलाई प्राथमिकता दिएको छ ।
दुवै पक्षबीचको मुख्य विवाद क्रियाशील सदस्यता वितरण र १५औं महाधिवेशनको नेतृत्वमा केन्द्रित छ ।
दुवैले तल्लो तहसम्म आफ्नो प्रभाव विस्तार गर्ने अभियान चलाइरहेका बेला दोस्रो तहका नेताहरूले समयमै सहमति नभए कांग्रेस इतिहासकै ठूलो विभाजनको जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।
कांग्रेसको १५औं महाधिवेशन आगामी १६–१९ असोजमा काठमाडौंमा हुँदैछ ।
महाधिवेशनलाई प्रविधिमैत्री बनाउन डिजिटल प्रणाली र ईभीएम प्रयोगको तयारीसमेत अघि बढाइएको छ ।






















