images
images
  • रवि गुटले २५ सदस्य दिन नमानेपछि बालेन समूह रुष्ट, रोकियो केन्द्रीय सदस्य मनोनयन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन ‘भागबन्डा’मा सहमति जुट्न नसक्दा प्रक्रिया अझै अन्योलमा परेको छ ।

    सभापति रवि लामिछानेले मनोनीत गर्ने ५१ केन्द्रीय सदस्यमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह पक्षले पाउने हिस्साबारे टुंगो नलाग्दा शाह पक्षले अहिलेसम्म आफ्नो सिफारिस बुझाएको छैन ।

    शाह पक्षले मनोनयन हुने ५१ केन्द्रीय सदस्यमध्ये कम्तीमा २५ जना आफ्ना सिफारिसका व्यक्तिलाई समेटिनुपर्ने अडान राखेको स्रोतको दाबी छ ।

    संख्या निर्धारण नभएसम्म नाम नदिने पक्षमा शाह पक्ष रहेको बताइएको छ ।

    रास्वपाको पहिलो महाधिवेशनबाट सभापतिसहित ९९ केन्द्रीय सदस्य निर्वाचित भए पनि विधानअनुसार सभापतिले मनोनयन गर्ने ५१ सदस्य अझै रिक्त छन् ।

    त्यस्तै, १८ पदाधिकारीमध्ये हालसम्म ७ जना मात्रै चयन भएका छन् भने वरिष्ठ नेतासहित १२ पद अझै खाली छन् ।

    महामन्त्री विपिन आचार्यले सभापतिले मनोनयनसम्बन्धी विषयमा आवश्यक परामर्श गरिरहेको र आगामी केन्द्रीय समिति बैठकमै केही पदमा मनोनयन हुने संकेत दिएका छन् ।

    सहमहामन्त्री असिम शाहले पनि सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच छलफलपछि मनोनयन टुंगिने बताए ।

    उनका अनुसार समावेशिता, महिला प्रतिनिधित्व र राजनीतिक सन्तुलनलाई ध्यानमा राखेर निर्णय गरिनेछ ।

    रास्वपा नेतृत्वका अनुसार मनोनयनबाट आउने उपसभापति शाह पक्षको हुने समझदारी भए पनि त्यसका लागि सुनील लम्साल वा सुधन गुरुङमध्ये कसलाई अघि सार्ने भन्ने विषयमा अन्तिम निर्णय भएको छैन ।

    महामन्त्रीसहित अन्य रिक्त पदाधिकारीमा पनि कसलाई जिम्मेवारी दिने भन्ने विषयमा दुई शीर्ष नेताबीच छलफल जारी रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images