काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर पक्ष नयाँ पार्टी गठनको दिशामा औपचारिक रूपमा अघि बढेको छ ।
शीर्ष नेताहरूबीच राष्ट्रिय भेला बोलाएर नयाँ पार्टी घोषणा गर्ने सहमति बनेको स्रोतले जनाएको छ ।
इतर पक्षका नेताहरूले कांग्रेसका ‘६ ब्रान्ड’ बीपी, गिरिजाप्रसाद, गणेशमान, किसुनजी, महेन्द्रनारायण निधि र देउवा धारका प्रतिनिधिहरू एकै ठाउँमा रहेको दाबी गर्दै नेतृत्व डा.शेखर कोइराला वा डा.शशांक कोइरालामध्ये एकलाई दिने विषयमा छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार नयाँ पार्टीको सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’ राख्नेबारे पनि प्रारम्भिक छलफल भएको छ ।
बीपी स्मृति दिवसका अवसरमा १६५ निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गर्दै राष्ट्रिय भेलामार्फत पार्टी निर्माणको आधार तयार गर्ने तयारी गरिएको छ ।
यस्तै, आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै एमाले र नेकपासँग सम्भावित सहकार्यबारे पनि अनौपचारिक संवाद भइरहेको बताइएको छ ।






















