काठमाडौं– राहदानी छपाइ ठेक्का प्रकरणपछि प्रधानमन्त्री बालेन्द्र शाह र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईबीच बढेको तनावको असर अख्तियारमा कार्यरत प्रहरी संगठनमा देखिएको छ ।
सरकारले अख्तियारमा कार्यरत डीआईजीदेखि इन्सपेक्टरसम्म १८ जना प्रहरी अधिकारीको सरुवा गर्दै त्यहाँको प्रहरी टोली नै फेरबदल गरेको छ ।
सामान्यतः एक वर्षअघि सरुवा नहुने अभ्यास रहे पनि यसपटक छ महिनामै व्यापक हेरफेर गरिएको स्रोतको दाबी छ ।
राहदानी ठेक्का प्रकरणमा अख्तियारले १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचारको आरोपसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
पक्राउ परेका सातै जना भने विशेष अदालतबाट धरौटी वा साधारण तारेखमा रिहा भइसकेका छन् ।
अख्तियारका अधिकारीहरूका अनुसार अनुसन्धान र मुद्दा दायर गर्ने निर्णयमा प्रहरीको भूमिका सीमित हुन्छ ।
अनुसन्धान अधिकृत, आयुक्त र कानुनी परीक्षण समितिको निर्णयपछि मात्रै मुद्दा अदालत पुग्ने भएकाले प्रहरीले मुख्यतः पक्राउ, सुरक्षा र प्रशासनिक सहजीकरणको काम गर्ने बताइएको छ ।
यद्यपि राहदानी प्रकरणपछि भएको यो व्यापक प्रहरी सरुवालाई प्रधानमन्त्री र अख्तियार नेतृत्वबीचको टकरावको साइड इफेक्टका रूपमा हेरिएको छ ।






















