काठमाडौं– प्रतिनिधिसभा नियमावली, २०८३ को विवादास्पद नियम २५९ विरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारीमा पुगेको छ ।
कांग्रेसले नयाँ नियमावलीले संविधानको मर्मविपरीत सांसदलाई प्रचलित कानुनभन्दा माथि राख्ने र भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा पनि निलम्बनबाट जोगाउने बाटो खोलेको आरोप लगाएको छ ।
कांग्रेसका अनुसार २०७९ को नियमावलीमा सामान्य आन्तरिक कार्यविधिसम्बन्धी रहेको नियम २५९ लाई २०८३ मा परिवर्तन गरी नियमावलीलाई ‘विशेष कानुन’ सरह लागू हुने व्यवस्था गरिएको छ ।
यही प्रावधानका कारण सांसदहरूलाई अन्य प्रचलित कानुनको दायराबाट उन्मुक्ति दिने प्रयास भएको दाबी कांग्रेसको छ ।
पार्टी सभापति गगनकुमार थापाले शीर्ष नेताहरू र वरिष्ठ कानुनविद्हरूसँग छलफल गरेपछि नियम २५९ लगायतका असंवैधानिक प्रावधान खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिएको बताएका छन् ।
कांग्रेस उपसभापति पुष्पा भुसालले पनि नियमावलीले संविधानलाई प्रतिस्थापन गर्न नसक्ने भन्दै अदालतबाट संवैधानिक परीक्षण गरिने स्पष्ट पारेकी छन् ।
कांग्रेसले संविधान संशोधन प्रक्रियासम्बन्धी नयाँ व्यवस्थामा पनि आपत्ति जनाएको छ ।
संविधानले दुवै सदनको भूमिका सुनिश्चित गरेको अवस्थामा नयाँ नियमावलीले प्रतिनिधिसभालाई एकलौटी अधिकार दिने प्रयास गरेको आरोप विपक्षीको छ ।
यसैबीच, सभापति गगन थापाले सरकारले नागरिकको जीवनस्तर सुधारभन्दा सामाजिक सञ्जालमा लोकप्रियता खोज्न बढी ध्यान दिएको आरोप लगाउँदै विधि र प्रक्रियालाई बेवास्ता गर्ने प्रवृत्तिले लोकतान्त्रिक शासन कमजोर बनाउने चेतावनी दिएका छन् ।






















