images
images
  • केयूमा नीतिगत भ्रष्टाचार : निर्देशिका बनाएर पूर्वपदाधिकारीलाई टन्न सेवा–सुविधा प्रदान

    काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू)ले पूर्वउपकुलपति र पूर्वरजिस्ट्रारलाई विशेष सेवा–सुविधा उपलब्ध गराउने गरी निर्देशिका बनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

    नियमविपरीत सुविधा बढाइएको भन्दै परेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

    कार्यकारी परिषद्को १० वैशाख २०८२ को ७४०औँ बैठकले ‘पूर्वउपकुलपति र पूर्वरजिस्ट्रारको सेवा–सुविधासम्बन्धी निर्देशिका’ अनुमोदन गरेको थियो ।

    निर्देशिकाअनुसार संस्थापक उपकुलपति र रजिस्ट्रारलाई आजीवन कार्यालय प्रयोजनका लागि ल्यापटप, मासिक ६५० रुपैयाँ सञ्चार भत्ता, सहायक तहको कर्मचारी तथा संस्थापक उपकुलपतिलाई डिनसरह सवारी, चालक र इन्धन सुविधा दिने व्यवस्था गरिएको छ ।

    त्यस्तै, कार्यकाल सकिएपछि पनि विश्वविद्यालयमा कार्यरत रहने उपकुलपति र रजिस्ट्रारलाई सुसज्जित कार्यालय, सहायक कर्मचारी, मासिक सञ्चार भत्ता, सवारी, चालक, मासिक १२० लिटर इन्धन र सवारी मर्मतका लागि मासिक ६ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था पनि निर्देशिकामा समावेश छ ।

    विश्वविद्यालयका सूचना अधिकारी महेन्द्रकुमार निरौलाले भने यी सुविधा ६० वर्षको सेवा अवधिसम्म विश्वविद्यालयमा कार्यरत रहने पूर्वपदाधिकारीका लागि मात्रै भएको दाबी गरेका छन् ।

    उक्त निर्देशिकालाई कानुनी वैधता दिन विश्वविद्यालयले सिनेटमा प्रस्ताव लगे पनि शिक्षामन्त्रीसहितका पदाधिकारीले असन्तुष्टि जनाएपछि प्रस्ताव स्वीकृत हुन सकेन ।

    स्रोतको दुरुपयोग भएको आरोपमा अख्तियारले अब सम्बन्धित व्यक्तिहरूको बयान लिने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images